राष्ट्रिय प्राकृतिक स्राेत तथा वित्त आयाेगकाे मुल्यांकनमा म्याग्दे प्रथम हुँदा घिरिङ पुछारमा
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा तनहुँका दश पालिका मध्ये म्याग्दे गाउँपालिका जिल्लामा प्रथम भएको छ । आयोगले आइतबार सार्वजनिक गरेको नतिजा अनुसार ७२.५० अंक प्राप्त गरी म्याग्दे गाउँपालिका जिल्लामा प्रथम भएको हो ।

तनहुँमा भानु नगरपालिकाले ७१.४३ अंक प्राप्त गरि द्धितीय भएको छ । यस्तै भिमाद नगरपालिकाले ६८.३९ , शुक्लागण्डकी नगरपालिकाले ६२.३८, ऋषिङ गाउँपालिकाले ५६.३० , व्यास नगरपालिकाले ५६.४५ , देवघाट गाउँपालिकाले ५०.६७, बन्दीपुर गाउँपालिकाले ५७.८२ , आँबुखैरेनी गाउँपालिकाले ५५.९५ अंक प्राप्त गरेको छ । यता घिरिङ गाउँपालिकाले ४३.१७ अंक प्राप्त गरेर जिल्लामै सबैभन्दा पुछारमा रहेको छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्क समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो । कार्यसम्पादन मूल्याङ्कनका लागि स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो ।

समयमै बजेट पेश गरे नगरेको, राजश्व बाँडफाँट गरे नगरेको र आन्तरिक राजश्वको लक्ष्य र सङ्कलन गरे नगरेकाे , असार मसान्तभित्र बजेट पास गरे नगरेको , आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेश गरे नगरेको विषयलाई सूचकमा समावेश गरिएको थियो ।
यस्तै बेरुजु , अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था , सुत्रको प्रयोग, आवधिक योजना तय गरे नगरेको, आवधिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, बालबालिकाको सङ्ख्या , संस्थागत प्रसूति सङ्ख्या लगायतका बिषय सूचकमा समावेश गरेको र त्यसैलाई आधार मानेर आयोगले स्थानीय तहलाई अङ्कभार दिएको थियो ।
























