बेलायतमा ठगीको जालो: जानुका ढुंगानाको ठगी प्रकरण सार्वजनिक
लण्डन – सुरुका दिनमा सामाजिक सञ्जालमा प्रेरणादायी सन्देश दिँदै चर्चामा आएकी जानुका ढुंगाना अहिले ठगी प्रकरणमा मुछिएकी छन्। बेलायतमा रहेका नेपालीहरूलाई वर्क परमिट मिलाइदिने भन्दै करोडौ रुपैयाँ ठगी गरेको आरोप उनीमाथि लागेको छ।

प्राप्त विवरणअनुसार, जानुका ढुंगाना बेलायतका पुराना नेपालीहरूसँग सम्पर्क बढाउँदै “मेरो यहाँ ठूला व्यक्तिहरूसँग पहुँच छ, वर्क परमिट मिलाइदिन्छु” भनेर प्रलोभन देखाउन थालिन्। सुरुमा सामाजिक सञ्जालमार्फत प्रभावित पारेकी उनले विभिन्न विद्यार्थी तथा कामदारहरूसँग अग्रिम भुक्तानी लिई ठगी गर्दै आएको खुलासा भएको छ।

विद्यार्थीहरूलाई शोषण गर्ने रणनीति
बेलायतमा रहेका विद्यार्थीहरूलाई उनले “मेरा दाइले नेपालमा पैसा ट्रान्सफर गरिदिनुहुन्छ, पछि नेपालमै फिर्ता गरिदिनु” भन्दै झुक्याइन्। कतिपय विद्यार्थीहरूले उनका कुरा पत्याएर आफ्नो बैंक खातामार्फत उनको पैसा पठाइदिए। तर, जब उनीहरूले आफ्नो रकम फिर्ता मागे, जानुकाले धम्क्याउन थालेकी बताइन्छ।
बैंक ट्रान्जेक्सनमा समस्या आएको बहाना गर्दै उनले कहिले आफ्नै खातामा, कहिले प्रेमीको खातामा पैसा पठाउन लगाइन्। साथै, उनले पीडितहरूमाथि मानसिक दबाब दिँदै “तिमीहरूले मलाई पैसा दिएको के प्रमाण छ?” भन्दै धम्क्याउने र उल्टै “हुण्डी कारोबारी भनेर फसाइदिन्छु” भन्न थालेको पाइएको छ।
इन्डियन गिरोहसँग साँठगाँठ
विशेष स्रोतका अनुसार, उनले संकलित रकम भारतस्थित आफ्ना इन्डियन पार्टनरहरूका कम्पनी खातामा हालेर हुण्डीमार्फत भारत पठाएकी छन्। उनको उद्देश्य भारतमा नै ठगी रकमबाट विलासी जीवन बिताउने रहेको बताइएको छ।
पीडितहरू न्यायको खोजीमा
नेपाल र बेलायत दुवै स्थानका पीडितहरू अहिले कानुनी बाटो खोजिरहेका छन्। कतिपय पीडितहरूले बेलायतमै आफ्नो बैंक खाताबाट पैसा झिकेर नगद रूपमा दिएका थिए, जसका कारण उनीहरू ठूलो मानसिक तनावमा परेका छन्।
नेपालमा उनले आफ्ना अंकलमार्फत पीडितहरूलाई झन् झुक्याउने काम गरिरहेका छन्। “छोरीको पैसा बेलायतमा अड्किएको छ, म नेपालमा तिमीहरूको पैसा उठाइदिन सहयोग गर्छु” भन्दै पीडितहरूलाई थप झुक्याउन खोजेको पाइएको छ।
कानुनी कारबाहीको माग
जानुका ढुंगानाको ठगीबाट पीडित भएका नेपालीहरू अहिले न्यायको माग गर्दै विभिन्न निकायमा उजुरी दिइरहेका छन्। बेलायतस्थित नेपाली समुदायले पनि यस्तो ठगीको विषयमा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन पहल गर्नुपर्ने माग गरेका छन्।
यो घटनाले पुनः एकपटक विदेशमा रहेका नेपालीहरूलाई कुनै पनि आर्थिक कारोबार गर्दा अत्यन्त सचेत रहनुपर्ने सन्देश दिएको छ।
























