काङ्ग्रेसको महाधिवेशन २०८४ साल अगाडि नैं हुन्छ- महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ साल अगाडि नै हुने बताएका छन् ।तनहुँको दमौलीमा सोमबार नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँको आयोजनामा भएको “तरुण यात्रा’ पुस्तक विमोचन एवं प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले पार्टिको महाधिवेशन समय मै हुने बताएका हुन् ।

विभिन्न बहानामा पार्टीको महाधिवेशन धकेल्ने खेल भएपनि कानुनी हिसाबले स्थानीय तहको निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन हुनेमा बिश्वस्त रहन महामन्त्री थापाले आग्रह गरे ।

‘संविधान, कानुन र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ,’ थापाले भने , ‘कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीत, संविधान र कानुनविपरीत हुन्छ।’
नेपाली कांग्रेसको अधिवेशन सार्न पाइदैन, कांग्रेस अर्को पार्टी संग मिलेर नयाँ पार्टी बनाउन पाइयो तर कांग्रेस पार्टीको अधिवेशन सार्न नपाइने महामन्त्री थापाकाे भनाइ थियो ।
२०८४ सालको वैशाखमा स्थानीय तहको चुनाव हुने भएकाले जति सक्दो चाडो अधिवेशन गर्नुपर्ने भन्दै महामन्त्री थापाले यतिबेला पार्टी भित्र वृहतर एकता आवश्यकता रहेको बताए । संघीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उनकाे भनाइ थियो ।
नेपाल तरूण दल तनहुँका अध्यक्ष हिरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली , पार्टी सभापति जीतप्रकाश आले कुमार गुरूङ , सुवाेध वाग्ले लगायतले बाेलेका थिए ।
























