बन्दीपुरमा हुने नयाँ वर्ष महाेत्सवकाे मुख्य मन्त्री पाण्डेले उद्घाटन गर्ने
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा नयाँ वर्ष महाेत्सव हुने भएको छ ।‘सडक मै खाऔ सडक मै रमाऔ आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धन गरौँ’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको बन्दीपुर पर्यटन विकास समितिका सभापति किसान प्रधानले बताए ।

उनका अनुसार, महोत्सवमा विभिन्न सांस्कृतिक कलाहरूको प्रदर्शनको साथमा विभिन्न परीकारका खानाहरु सडकमै खान पाइनेछ ।

महोत्सव आगामी चैत ३० गतेदेखि २०८२ वैशाख २ गतेसम्म हुनेछ । बन्दीपुरमा यसअघि पनि विभिन्न अवसरमा सडक खाना महोत्सव हुँदै आएको छ ।बन्दीपुर भ्रमण वर्षकै सन्दर्भ पारेर बृहत किसिमबाट यसपटकको महोत्सव आयाेजना गरिएको भ्रमण वर्ष संयाेजक बैँस गुरूङले बताए । महाेत्सवकाे उद्घाटन गर्न यही चैत ३१ गते बिहान १० बजे गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डे आउने समेत उनलेे जानकारी दिए ।
बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दीपुर बजार इकाइ, उद्योग बाणिज्य संघ बन्दीपुर बजार इकाइ समिति र रेबान तनहुँ बन्दीपुर लगायतको सहकार्यमा महोत्सव हुन लागेको क्षेत्रीय हाेटल संघका उपाध्यक्ष विपीन प्रधानले बताए । महाेत्सवमा विभिन्न झाँकी सहितको विविध कार्यक्रम हुने समेत उनलेे जानकारी दिए । महाेत्सवकै अवसरमा
गाउँपालिकामा विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत आयोजना हुने भएको छ । गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी हुने यो प्रतियोगिता प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ । बन्दीपुर भ्रमण वर्षकै सन्दर्भमा यही चैत ३१ गते राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद स्वर्णिम वाग्ले , सुमना श्रेष्ठ ,रमेश प्रसाईं लगायतका नेताहरू समेत आउने रास्वपाले जनाएको छ । नयाँ वर्ष महाेत्सव सफल बनाउन र पर्यटकहरूलाई सुविधा दिन आयाेजकले डुम्रे देखि यातायातको सेवा व्यवस्था मिलाएको छ । महाेत्सवमा हरेक दिनमा चर्चित र ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू आउने रेवान बन्दीपुरका अध्यक्ष जितेन्द्र लाल भुमिले बताए ।
























