अधिकारी , भट्टराई र नेपाली बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट सम्मानित

अधिकारी , भट्टराई र नेपाली बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट सम्मानित

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट धनपति अधिकारी डिपी , प्रकाश चन्द्र भट्टराई र सानेबहादुर नेपाली सम्मानित भएका छन्।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष अधिकारी, लोकवाणी दैनिकका सम्पादक भट्टराई, र जनचाहना न्युज डट कमका सम्पादक नेपालीलाई पत्रकारितामार्फत उद्यमशीलता र स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान दिएको भन्दै पुरस्कृत गरिएको हो।

बन्दीपुर केवलकार एण्ड टुरिज्म लिमिटेडले चौथो वार्षिक साधारणसभाको अवसरमा आज केवलकारको बटम स्टेसनमा आयोजित कार्यक्रममा पत्रकारलाई सम्मान प्रदान गरेको हो । 

उनीहरूलाई जनही नगद रु. ५१,०००, प्रमाणपत्र तथा दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले , प्रदेशसभा सदस्य हरिबहादुर चुमान र कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले संयुक्त रूपमा सम्मान गरेका थिए ।

कम्पनीले उद्यमशील विषयमा कलम चलाउँदै पर्यटन प्रवर्द्धनमा योगदान दिने पत्रकारहरूलाई प्रत्येक वर्ष साधारणसभाको अवसरमा सम्मान गर्दै आएको छ ।

  कम्पनीका संचालक तारानाथ उपाध्यायको संयोजकत्वमा गठन गरिएको पुरस्कार छनोट समितिले तय गरेको मापदण्ड अनुसार पत्रकारहरूको मूल्याङ्कन गरी सिफारिस गरेको सूचीलाई सञ्चालक समितिले अनुमोदन गरेपछि साधारणसभाको अवसरमा पत्रकारलाई सम्मान गरिएको छनोट समितिका संयोजक उपाध्यायले जानकारी दिए ।

यसअघि पत्रकार मदन वाग्ले, कृष्ण न्यौपाने, सुनिता आचार्य, दुर्गाप्रसाद शर्मा र सबिना कार्कीले सो पुरस्कार प्राप्त गरिसकेका छन्।

कार्यक्रममा कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले हाल निर्माणाधीन “बन्दीपुर हिल गुरुयोजना” अन्तर्गत करिब १५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए। गुरुयोजना आगामी दुई वर्षभित्र रु. ६ अर्ब २९ करोडको लागतमा पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page