बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको चाैंथाे साधारणसभा सम्पन्न

बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको चाैंथाे साधारणसभा सम्पन्न

पर्यटकीय ग्राम बन्दीपुरमा निर्माणाधीन “बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड”को चौथो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। कार्यक्रम कम्पनीको बटम स्टेशनमा आयोजना गरिएको थियो भने सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले रहेका थिए। उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर चुमान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ, बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ, बन्दीपुर पर्यटन वर्ष २०२५ का संयोजक श्री वैंश बहादुर गुरुङ र आरकेडी समूहका संचालक किरण पोख्रेल विशिष्ट अतिथिको रूपमा सहभागी थिए।
कार्यक्रममा अतिथिहरुले बन्दीपुर केवलकार परियोजनालाई बन्दीपुर क्षेत्र र नयाँ पुस्ताका लागि अध्ययन तथा अवलोकनको महत्वपूर्ण मञ्च भएको बताएका थिए। प्रमुख अतिथिदेखि विशिष्ट अतिथिहरुसम्मले बन्दीपुर जस्ता परियोजना असफल हुँदा समग्र राष्ट्रमा नै नराम्रो सन्देश जाने भन्दै, स्थानवासीहरुले आ-आफ्नो ठाउँबाट पहल गरी परियोजनाको प्रवर्द्धन तथा सम्बर्द्धन गर्नुपर्ने बताए ।
सभामा अध्यक्ष रामचन्द्र शर्माले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखा परीक्षकको नियुक्ति सम्बन्धी प्रस्ताव, र विशेष प्रस्तावको रूपमा प्रवन्धपत्र तथा नियमावली संशोधन, प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) सम्बन्धी अध्यावधिक प्रस्ताव, कम्पनीको रजिस्टर्ड कार्यालय परिवर्तन गर्ने प्रस्ताव, संचालकहरूको पारिश्रमिक तथा बैठक भत्ता सम्बन्धी प्रस्ताव, कम्पनीको लगानी नीति तथा स्थिर सम्पत्तिको बिक्री एवं भाडामा दिने सम्बन्धी प्रस्तावहरू पारित गरिएका थिए। साथै, विभिन्न प्रकारका संकल्प प्रस्तावहरू समेत पारित गर्दै साधारणसभा सभ्य र भव्य रूपमा सम्पन्न भएको जानकारी अध्यक्ष शर्माले दिएका थिए।
उक्त अवसरमा उद्यमशीलताको क्षेत्रमा कलम चलाएका तीनजना पत्रकारहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासंघका अध्यक्ष एवं रेडियो बन्दीपुरका स्टेशन म्यानेजर डी.पी. अधिकारी, महासंघका पूर्व अध्यक्ष एवं लोकबाणी दैनिकका सम्पादक प्रकाश चन्द्र भट्टराई र महासंघका पूर्व उपाध्यक्ष एवं जनचाहना न्युजका साने बहादुर नेपाली कोइराला रहेका छन्। उनीहरुलाई जनही नगद रु ५१,०००, प्रमाणपत्र, दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page