संस्कृति संरक्षणमा जुटेको तनहुँका कुमाल समुदायलाई सामाजिक बिकास कार्यालयकाे साथ

संस्कृति संरक्षणमा जुटेको तनहुँका कुमाल समुदायलाई सामाजिक बिकास कार्यालयकाे साथ

कुमाल समुदायमा प्रचलित विभिन्न सङ्गीत, नाच,  गीत, भेषभुषा लगायतको लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरू सक्रिय भएका छन् । कला र संस्कृति संरक्षणका लागि कुमाल समाज नेपालको नेतृत्वमा अभियान सुरु गरिएको हो । उनिहरुको अभियानलाई सामाजिक विकास कार्यालय तनहुँले साथ दिएको छ ।

अभियानअन्तर्गत कुमाल समाज नेपाल जिल्ला कार्य समिति तनहुँको आयोजनामा लोपोन्मुख पाउँदुरे नाच पुस्ताहस्तान्तरण कार्यक्रम गर्ने निर्णय भएको समाजका तनहुँ अध्यक्ष आलोक कुमालले जानकारी दिए । इन्टरनेटको बढ्दो प्रयोग,  विदेशी फिल्म, आयातित गीत तथा सङ्गीतले समुदायका मौलिक परम्परा लोप हुँदै जान लागेकोले संरक्षण अभियान सुरु गरिएको कुमाल बताउछन् ।

अहिलेका अधिकांश युवाले पाउँदुरे नृत्य नजान्ने हुँदा कुमाल समुदायमा हराउन थालेकाले संरक्षण गर्न पुस्ता हस्तान्तरण कार्यक्रम गर्ने निर्णय भएको कुमालले बताए । कुमालका अनुसार भानु, व्यास, शुक्लागण्डकी, भीमाद नगरपालिका र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोवास छ । जिल्लाभर आठ हजार ७२७ जनसङ्ख्या छ । पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृतिले भरिपूर्ण भएको कुमाल समुदायको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटिएको हो ।

संस्कृति संरक्षण अभियानअन्तर्गत पाउदुरे नाचको पुस्ता हस्तान्तरण गर्न लागिएको उनको भनाइ छ । व्यास नगरपालिका–९ कलेस्तीस्थित कुमाल गाउँमा आगामी वैशाख १५ देखि २१ गते पाउदुरे नाच पुस्ता हस्तान्तरण कार्यक्रम राखिएको र यसले समुदायमा उत्साह जगाएको व्यास नगरपालिका–१० अँधेरीभन्ज्याङ निवासी रिता कुमालले जानकारी दिइन् । समाजका अनुसार पाउँदुरेमा रामायण खण्डमा रामको जन्मदेखि वनवाससम्मको गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी, कृष्ण चरित्र खण्डमा कृष्णका बारेमा गाइने गरिन्छ । कुमाल समुदायको मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले मद्दत गरिएको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुरहरि आचार्यले जानकारी दिए ।  

एक हप्ते उक्त पुस्तान्तरण कार्यक्रममा कुमाल समुदायहरूको भाषा, संस्कृति, रितिरिवाज, चाडपर्व, परम्परा, मूल्य, मान्यता आदिको प्रशिक्षण प्रदान गरिने उनले जानकारी दिए । जिल्लाको विभिन्न पालिकामा छरिएर बसोवास गर्ने कुमाल समुदायहरूलाई एउटै थलोमा जम्मा गरेर गरिने उत्त पुस्तान्तरण कार्यक्रममा दलबहादुर कुमालले प्रशिक्षक प्रदान गर्ने समाजले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page