दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा बिहान ६ बजेदेखि सेवा सुरु

दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा बिहान ६ बजेदेखि सेवा सुरु

बिरामीको सहज उपचारका लागि दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयले बिहान ६ बजेदेखि सेवा सुरु गरेको छ । बिहान १० देखि ३ बजेसम्म सेवा प्रवाह गरिँदै आएकोमा बढ्दो गर्मीसँगै बिरामी चाप बढेकोले
अब बिहान ६ बजेदेखि सेवा सुरु गरिएको आयुर्वेद चिकित्सालयले जनाएको छ ।

गर्मी बढेसँगै हाल पहिलाभन्दा झण्डै दोब्बर बढी बिरामी आएकाले बिहान ६ देखिनै सेवा दिइएको आयुर्वेद चिकित्सालय, दमौलीका सूचना अधिकारी वरिष्ठ कविराज शम्भु चापागाईले बताए । बिहान ६ देखि ११ बजेसम्म गरी पाँच घण्टा स्नेहन श्वेदन, वस्ती कर्म, नस्य,  जलनेती र शिरोधारा सेवा प्रवाह गरिएको उनले जानकारी दिए ।

उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी, नसा, आवाज रोकिने, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, बाथ, प्रसूति, बमनथेरापी, अम्लपित्त लगायत सेवा लिन धेरै बिरामी आउने चिकित्सालयले जनाएको छ ।

जनशक्ति तथा भौतिक पूर्वाधारको अभाव भए पनि विरामीको सहजकताका लागि बिहानैदेखि सेवा सुरु गरिएको कार्यालय प्रमुख आयूर्वेद चिकित्सक डा. नारायण श्रेष्ठले बताए । डा. श्रेष्ठका अनुसार आयुर्वेद चिकित्सक, कविराज, वैद्य तथा अनमीको अभाव हुँदा सेवा प्रभावित भएको छ । सेवाग्राही दिनप्रतिदिन थपिँदै गए पनि पुरानो दरबन्दी अनुसारको जनशक्ति भएकाले सेवा प्रभावित भएको हो । हाल केन्द्रमा १३ जना मात्रै कर्मचारी भएकाले बिरामीको चाप अनुसार दोब्बर पार्नुपर्छ । आयूर्वेद चिकित्सक, कविराज, वैद्य एक–एक जना र अनमी दुई जना कम्तिमा पनि थप गर्न जरुरी देखिएको श्रेष्ठले बताए । 

श्रेष्ठका अनुसार हाल आयूर्वेद चिकित्सक दुई, वरिष्ठ कविराज निरीक्षक एक, वैद्य निरीक्षक चार, सहलेखापाल एक र ल्याब टेक्निसियन एक र बाँकी अन्य गरी १३ जना छन् । एक जना आयूर्वेदिक चिकित्सक भने छात्रवृत्ति करारका छन् । हाल दैनिक ५०/६० जनाको हाराहारीमा बिरामी आउने गरेकाले जनशक्ति कम भएको चिकित्सालयले जनाएको छ । जनशक्तिको अभावको अतिरिक्त व्यवस्थित संरचना नरहेको डा.श्रेष्ठले बताए। रातमा भर्ना गरेर राख्ने बेड नभएको उनले जानकारी दिए । “आलो घाउ हुन्छ त्यस्ता बिरामी हिँडडुल गर्दा स्वास्थ्य समस्या पर्छ उनीहरू केही दिन केन्द्रमै बस्नुपर्ने हुन्छ तर पूर्वाधार नहुँदा सुविधा दिन सकिएको छैन डा . श्रेष्ठले भने ।’’ छ रोपनी जमिनको आवश्यक भए पनि दुई रोपनी मात्रै भएको श्रेष्ठले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page