स्थानीय तहको विज्ञप्तिलाई चुनाैती दिँदै शिक्षक महासंघले भन्यो – अन्तिम धक्काकाे लागि सबै काठमाडौं आउनु
नयाँ शिक्षामन्त्रीको नियुक्तिसँगै शिक्षक आन्दोलन समाप्त होला भनिरहेका बेला नेपाल शिक्षक महासंघले अग्रगामी शिक्षा ऐन जारी गर्ने सवालमा दरिलो र अन्तिम धक्का आवश्यक भएको भन्दै निर्णय घडीमा देशभरका सबै शिक्षक कर्मचारीलाई काठमाडौँ आउन आग्रह गरेको छ ।नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेका हुन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन भएकाे भन्दै महासंघले आन्दोलनलाई अझ सशक्त बनाउँदै आफ्ना मागमुद्दा समेटिएको अग्रगामी ऐन जारी गर्ने सवालमा दरिलो र अन्तिम धक्का आवश्यक भएको जनाएकाे छ ।

काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक शिक्षक र कर्मचारी साथीलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाे भन्दै महासंघले संविधान प्रदत्त सामूहिक सौदावाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न नगराउन सबै स्थानीय तहहरुलाई आग्रह समेत गरेकाे छ । साथै महासंघले यस परिस्थितिबाट विचलित नहुन सबै शिक्षक – कर्मचारी साथीहरुमा अनुरोध गरेकाे छ ।
महासंघले राजधानीका सडकमा आन्दाेलन चर्काएकाे २५ दिन बितिसकेकाे छ ।
























