पवित्राकाे प्रअ नियुक्तिमा एमालेले हस्तक्षेप गरेपछि भाँडभैलाे
बन्दीपुर गाउँपालिका–१ स्थित पवित्रा माविको प्रअ नियुक्तिमा एमालेले हस्तक्षेप गरेपछि भाँडभैलाे भएको छ । नमुना विद्यालय व्यवस्थापन निर्देशिका अनुसार विष्णुप्रसाद न्यौपानेलाइ गत चैत ३१ गते पाँच वर्षको लागि उक्त विद्यालयको प्रअ नियुक्त गरिएको थियो । तर उनको नियुक्तिकाे बिषय अहिले बिवादमा देखिएको मात्रै छैन आपसी भाँडभैलाे समेत भएको छ । उनको नियुक्तिको बिषयमा व्यवस्थापन समिति र जनप्रतिनिधि बिचमा जुँगाकाे लडाइँ नैं चलेको छ । एमालेका वडाअध्यक्ष , काङ्ग्रेस निकटका व्यवस्थापन समिति अध्यक्ष र माओवादीकाे समेत प्रभाव भएको कारण उक्त बिद्यालयमा राजनीतिक भाँडभैलाे देखिएको हाे ।

नमुना विद्यालय व्यवस्थापन निर्देशिका २०७४ मा माध्यमिक तहमा कम्तीमा पाँच वर्ष शिक्षण अनुभव भएको स्थायी शिक्षक, स्नातकोत्तर तह उत्तिर्ण भएको, सुचना प्रविधि सम्बन्धि जानकार भएको तथा विद्यालय विकास प्रस्ताव अनुसार कम्तीमा ७० प्रतिशत अंक ल्याएका मध्ये उच्चतम अंक प्राप्त गरेको शिक्षकलाई प्रअ नियुक्ती गनुपर्ने प्रावधान रहेकोमा न्यौपानेले उक्त सबै मापदण्ड पुरा गरेको कारण प्रअ नियुक्ती भएको बन्दीपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य शिवकुमार श्रेष्ठले बताए । व्यवस्थापन समितिले सुचना प्रकाशन गरेपछि नियम र प्रक्रियागत तरिकाले प्रअ नियुक्ति हुने अवस्थामा व्यवस्थापन समितिले बैठक राख्न आलटाल गर्ने र सधैं पछाडि धकेल्ने गरेपछि उक्त बिषय गिजल्टिएकाे बताइएको छ । कि सुचना निकाल्न हुदैन निकालेपछि नियमअनुसार आएकाे प्रक्रिया अगाडि बढाउनुपर्छ र प्रअ नियुक्ति गर्नुपर्छ अध्यक्ष श्रेष्ठले भने । शैक्षिक क्षेत्रमा सधैं अनिर्णयको बन्दी बनाउन नहुने भन्दै उनलेे सञ्चालक समितिले बैठक टार्ने काम गरेपछि जेष्ठ सदस्य डिल बहादुर राना (विजय)काे अध्यक्षतामा बैठक बसी प्रक्रिया अगाडि बढाइएको बताए ।
गत चैत ४ गते बसेको विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नयाँ प्रअको लागि सुचना प्रकाशन भए बमोजिम न्यौपानेको मात्रै प्रअ छनौटको लागि आबदेन परेसँगै उनी नियुक्त भएका वडाअध्यक्ष श्रेष्ठकाे भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नियत विद्यालयलाई सँधै भद्रगोल बनाईरहने र नयाँ प्रअ नियुक्ती हुन नदिने खालको थियो’ श्रेष्ठले भने ‘त्यही भएर पटक–पटक बैठक राख्ने तर आफु सँधै भागिरहने मात्र गर्दै आएका उनलेे आराेप लगाए ।
गाउँपालिका र जिल्ला शिक्षा समन्वय इकाईसँग परामर्श गरि सर्वसम्मत रुपमा कुलेन्द्र गौतमको संयोजकत्वमा विज्ञ समिति गठन गरिएको र
उक्त समितिले नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका बमोजिम नै सबै मापदण्ड पुरा गरेका न्यौपानेलाई प्रअ नियुक्ती गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

यता न्यौपाने प्रधानाध्यापक नियुक्ती भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र अधिकारीले विज्ञप्ति प्रकाशित गरि प्रअ नियुक्ती कार्य अबैधानिक भएको बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारी र शिक्षक अभिभावक संघका अध्यक्ष निरु थापाले गत बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरि विद्यालयमा प्रधानाध्यापक नियुक्ति भएको भनी सामाजिक सन्जाल मार्फत जानकारी आएको घटनाले विद्यालय व्यवस्थापन समितिको एवं विद्यालय परिवारको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘बन्दीपुर गाउँपालिका वडा नम्बर १, का अध्यक्ष शिव कुमार श्रेष्ठ, वडा सदस्य डिल बहादुर राना (विजय) को प्रत्यक्ष उपस्थितमा असंवैधानिक तथा राजनैतिक प्रतिशोध पूर्ण योजनाबाट समग्र विद्यालयको हित विपरित भएको अवाञ्छित कृयाकलाप प्रति घोर भत्सना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ‘विद्यालय व्यवस्थापन समितिको क्षेत्र अधिकारलाई प्रत्यक्ष राजनिती हस्तक्षेप गरि गरिएको निर्णय निन्दनिय खेदपूर्ण कियाकलापको जति निन्दा गरेपनी कमै हुन्छ । यस घटना प्रति बन्दीपुर गाँउपालिका, शिक्षा शाखा, शिक्षा समिति तथा बन्दीपुर गाउँपालिका र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
,
























