तनहुँमा एसईई दिने ५ हजार ४ सय बैसठ्ठी जना:

आजवाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा तनहुँबाट ५ हजार ४ सय ६२ जना परीक्षार्थी सहभागी छन्। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आउँदो २७ गतेसम्म सञ्चालन हुने छ ।
२६ परिक्षा केन्द्र तोकिएको तनहुँका परिक्षा केन्द्रहरुमा भिमादको जनज्योती मावि भिमाद र धर्म मावि भिमाद, घिरिङको चन्द्रज्योती मावि घिरिङ, ऋषिङको शिव सरस्वती मावि ऋषिङ, बन्दिपुरको विष्णु मावि नाहाला, पवित्रा मावि पिप्ले र भानु मावि बन्दिपुर, भानुको होरालो शारदा शिक्षा सदन मावि नारेश्वरटार, चोक मावि रामपुरेटार र चन्द्रावती मावि टुहुरेपसल , आबुँखैरेनीको मित्रता मावि सत्रसय र देवघाटको महेश संस्कृत गुरुकुल विद्यापिठ देवघाट रहेका छन् ।

यसैगरी व्यासको सत्यवती मावि दमौली,निर्मल मावि दमौली, जलदेवी मावि भादगाउँ, बालमन्दिर मावि दमौली, महर्षी संस्कृत बेदव्यास मावि दमौली, चन्डीदेवी राष्ट्रिय मावि कुमालटारी र क्यामिन मावि कलेस्ती, म्याग्देको मिन मावि थर्पु, शुक्लागण्डकीको सरस्वती नमुना मावि खैरेनीटार, खैरेनी मावि खैरेनीटार, जनकल्याण मावि बेलचौतारा, पन्चमुनी मावि दुलेगौंडा, हंस बाहिनी मावि कोत्रे र गाउँफर्काेदय मावि ढोरफिर्दी रहेका छन् ।

देशभर भने सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रकको कार्यालयले जनाएको छ ।
यसपटक एसईईमा सहभागी भएका विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरेका छन् । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली पनि लागू हुँदैछ । जसमा कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्छ । सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन ।




































