व्यास नगरपालिकामा असारमै गाइजात्रा

व्यास नगरपालिकामा असारमै गाइजात्रा

साउनको अन्तिमतिर सुरु हुने गाइजात्रा व्यास नगरपालिकामा भने असारमै भएको छ । गाइजात्रै गाइजात्राले ख्याति कमाएको नगरपालिकाले यसपटक फेरि औषधी खरिद सम्बन्धि बिवाद र एकअर्काकाे आराेपप्रत्याराेपमा नगरबासीबाट गाइजात्राकाे संज्ञा पाएकाे छ । नगरबासी भन्छन् सधैंको गाइजात्राले हाम्रो व्यास नगरपालिका भन्नपनी लाजमर्दो भइसक्यो ।

हुनपनी व्यास नगरपालिकामा तारा सँगै जुनकाे गाइजात्रा बाट सुरु भएको जात्रा ढुंगा बालुवा जात्रा ,सारी खरिद जात्रा , सेफ्टी टङ्की गाइजात्रा हुँदै अडियो काण्ड लगायतका जात्राकाे चर्चामा रहेको छ । नगरसभामा मदिरापान गर्दै ”तारासगै जुन” गीतमा कम्मर मर्काएर जनप्रतिनिधि र कर्मचारीले नाचेकाे गाइजात्रा बाट सुरु भएको यहाँको जात्रा नगरपालिकाका केही कर्मचारीले आफ्नो कार्यालयमा नक्शा पास गर्न आउने सर्वसाधारणलाई आफुले नगरपालिकामा जागिर खाएपश्चात आफ्नो श्रीमती , आमा, बुबा, भाई , साला ,सालीको नाममा खोलेको कन्सल्टेन्सिमा नक्शा बनाउन आग्रह गर्ने , आफ्नो हार्डवेयरमा सामान खरिद गर्न प्रेसर गर्ने, घर बनाउने ठेक्का आफैलाई दिन कर गर्ने , फर्निचरदेखि रंगरोगनको काम आफैलाई दिन कर गर्ने लगायतका विषय सम्म पुगेको छ ।

त्यतिमात्र हाेइन यसअघिका प्रमुख प्रशासकिय अधिकृत नागीला काण्ड , जसमा कर्मचारी नैं संलग्न भएर प्रमुखको नेमप्लेट समेत फालेर गाइजात्रा देखाएका थिए । यस्तै मादी नदिको बालुवा ढुङ्गा घोटाला काण्डले पनि नगरपालिका अर्को जात्रामा फसेको थियो । मादीकाे ढुंगा बालुवा ठेक्का नलागेको भनेर नगरपालिकाले नैं नगर प्रहरी लगाएर काम गर्दा १५ ट्याक्टर सामान बाहिरिँदा ५ ट्याक्टरकाे मात्रै बिल काटेर अरू ड्युटीमा बस्नेले आम्दानी नदेखाइ खल्तीमा हालिएको र उक्त बिषय बाहिरिए पछि त्यस काण्डमा संलग्न केही कर्मचारीलाई निलम्बनकाे नाटक गरेर उक्त जात्रा पनि थामथुम पारिएको थियो ।

यस्तै व्यास नगरपालिकाकाे अर्को गाइजात्रा हाे सेफ्टी टङ्की गाइजात्रा । जुन जात्रामा पनि गाडीका चालक सहित स्टाफले १० वटा घरमा सेफ्टीटङ्की सफा गरेमा २/३ वटाको मात्रै नपामा आम्दानी बाँध्ने र अन्य बाँकीको खल्तीमा हालेको बिषय बाहिरिएको थियो । त्यसपछिको अर्को चर्चित गाइजात्रा हाे व्यास नगर अडियो जात्रा । व्यास नगरपालिकाले फाेहाेरमैला व्यवस्थापनकाे लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाउँदै गर्दा बाहिरिएको अडियो जात्राले कर्मचारी निलम्बनकाे अवस्था सम्म पुगेको थियो ।
यी त भए व्यास नगरपालिकाका विगतका जात्रा !

नगरपालिकामा अहिले फेरि अर्को जात्रा बाहिरिएको छ । जुन हाे औषधी खरिद जात्रा ।
व्यास नपा १० मा रहेको व्यास नगर अस्पतालको लागि १० लाख बराबरको औषधी खरिद गर्न व्यास नगरपालिकाको कार्यपालिकाको बैठकबाट निर्णय भएअनुसार स्वास्थ्य शाखाका कर्मचारीद्वय कल्पना दाहाल र लक्ष्मी गुरुङले टेन्डर प्रक्रियाबाट औषधी खरिद गरिएको भन्दै भुक्तानीको फाइल तयार गरी, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे समेतबाट भुक्तानी आदेश भई लेखा शाखामा रकम निकासाका लागि पेश गरिएको थियो ।

तर जब लेखा शाखाले केही शंका लागि औपचारिक रूपमा खरिद गरी अस्पतालमा बुझाइएको औषधीको पुष्टि गर्न खोज्यो, त्यो बेला औषधि खरिदमा गम्भीर अनियमितता भएको आशंका लागेपछि भुक्तानी रोकिएको थियो । अस्पतालमा झण्डै आधा औषधी मात्र दाखिला गरिएको पाइएको बताईएको छ । तर स्वास्थ्य शाखाबाट पुरै रकमको भुक्तानी माग गर्दै कागजी प्रक्रिया मात्र पूरा गरी लेखा शाखामा अन्तिम भुक्तानीका लागि फाइल पेश गरिएको थियो ।

जनप्रतिनिधि भएको वर्षाैं बित्दा समेत नगरपालिकाको भवन सँगै जोडिएको नाली सफा गर्न नसक्ने, दर्जनौ नगर प्रहरी हुँदाहुदै फुटपाथ व्यवस्थापन गर्न नसक्ने , फोहोरमैला व्यवस्थापन गर्न नसक्ने , सार्वजनिक जग्गा अतिक्रमण रोक्न नसक्ने जस्ता बिषय आम नगरबासीमा जगजाहेर नैँ रहेको अवस्थामा नगरपालिका भने एकपछि अर्को गाइजात्रामा फसेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page