तिम्रो आन्दोलन कलङ्कित भए पछि तिमी (GEN-Z) कसरी निस्कलङ्कित सावित हुन्छौँ

तिम्रो आन्दोलन कलङ्कित भए पछि तिमी (GEN-Z) कसरी निस्कलङ्कित सावित हुन्छौँ

लेखक बिधान पौड्याल
कुश्मा नगरपालिका-०१ पर्वत- वर्तमान समयमा जे जुन घटनाक्रम यो देशले मेरो मातृभुमीले भोगेको छ, यथास्थिति हेर्दा पुरानो सरकार भन्दा तिमी बढी कलङ्कित महसूस मैले गरेको छु।

मेरो मन्दिर मेरो कार्यक्षेत्र श्री सर्वोच्च अदालतले तिम्रो के बिगारेको थियो? त्यहाँ भएको न्यायीक याचना, न्यायका स्थापित मूल्य मान्यताले तिम्रो के बिगारेका थिए? देशका विभिन्न भूभागबाट न्यायीक भिख माग्न आएका जनतालाई मैले के जवाफ दिने, मेरो संस्थाले के जवाफ दिने? केही अमुख भ्रष्टाचारीको नाउँमा मेरो संस्था जलाउने, लाखै दिनदुखिको न्यायीक याचना जलाउने तिमीहरु भस्मासुर, रावणको स्वरुप हौ। घुसपेठ भयो भनेर अम्किने ठाँउ तिमी दानवहरुलाई कदापि छैन। भदौ 23 मा सरकारले घुसपेठ भयो भनेर गोली चलाउँदा सरकार दोषी हुने अनि तिमीहरुको रोहमा भएको अन्दोलन, तिमीहरुको अग्रसरतामा भएको आन्दोलनको नजिताबाट बलिरहेको सर्वोच्च न्यायीक निकायको रोदनबाट तिमीहरुले छुट पाउनु पर्ने?

नेपाल राष्ट्रको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय एकता स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्ने परिकल्पना गरेको संविधान, जुन देशको मुल कानून हो यो भन्दा माथि उठेर प्रधानमन्त्री जस्तो गरिमामय र सम्मानित पदलाई हाटबजारको मिठाई जस्तो बाढ्ने अधिकार तिमीलाई कस्ले दियो? के 10-12% जनसङ्ख्या भएको तिम्रो (हाम्रो) पुस्ताले जे भन्यो बाँकी 88-90% जनसङ्ख्याले त्यही गर्नु पर्ने हो? यही को प्रजातान्त्रीको मूल्य मान्यता? यही हो majority Governence? हामीसँग यस संविधान बमोजिम गठन भएको संसद छ जो तिमीहरुको पलको कृतिम खुसिको रापतामको लागी जलेर नष्ट भयो त्यस जन अभिमतको विरुद्ध वा संविधान विरुद्ध कुनै पनि निर्णय गर्न तिमीहरुलाई छुट छैन। आज तिमीहरु जसरी अल्लारेपन देखाएर यो विध्वंशको कारक भयौ भोली Underrepresentative Populations तिम्रा विरुद्द जाई लाग्दा के हुन्छ? विचार गरेका छौ? तोम्रो घर जलाउन आए भने के गर्ने? त्यसैले सँविधान बमोजिम बाहेक केहि कदम स्वीकार्य हुँदैन।

विभिन्न देशमा राष्ट्रिय स्थरका जनप्रतिनिधिको उमेर 25 वर्ष तोकियको छ। केही वैधानिक कारण भएर नै त्यो मान्यता संस्थापक भएको होला नि त।कि होइन? एक किसिमको परिपक्कता, स्पष्टता चाहिन्छ होला नि त नेतृत्वमा। के भ्रष्टाचार निर्मूलनको लागी हिजो जे भयो त्यो आवश्यक थियो? मेरो होइन त्यो बलिरहेको सिंहदरवारको प्रश्न हो यो? तिमीहरुको झोकमा मेरो संस्था मेरो राष्ट्रको सम्पत्तीले आगो खानु पर्ने? यसअर्थमा तिमीहरु कलङ्कित हौ।

देशको आर्थिक, सामाजिक, राजनितिक परिवेश के थाहा छ? देशले अन्तराष्ट्रिय जगतमा आफ्नो कुन किसिमको उपस्थिती जनाउँछ थाहा छ? नेपालको भु-राजनितिक दुविधा थाहा छ? नेपालको विदेश निति थाहा छ? कसरी नेपालमा विदेशि शक्तिको चलखेले आर्थिक ररा जनितिक अस्थिरता आएको छ थाहा छ? आर्थिक प्रणालि थाहा छ? सामाजिक एकताको मालाकर कडी थाहा छ? हिजोको घटनाले सामाजिक प्राणिको हक गुमाइ सक्यो तिमिहरुले? झोक र आवेगमा राष्ट्र संचालन हुने भए 2062/63 मा राजाको झोक देखेनौ सरी पढेनौ, 17 सालको महेन्द्रको झोक पढेनौ? ल चलाउ झोकमा राष्ट्र। उग्र व्यवहार देखाएर तिमीहरुले मेरो राष्ट्र दशकौँ पछि धकेलिदियौँ।

अब के? एउटा नेतृत्व छैन, सोच छैन, विचार छैन। थाहा छ वर्तमान संविधान वि.सं 2007 देखिको परिकल्पना हो 65 वर्षमा त्यो सफल भएको थियो। तिमीहरू यो संविधान विघटन गरेर नयाँ संरचना नयाँ प्रणाली र नयाँ संविधान बनाउने ल्याकत राख्छौँ र यो संविधानको परिधि भन्दा बाहिर गएर राज्य संचालन गर्ने? छ हिम्मत?

तिमीहरु गोट्टी भएको महसुस गरेका छौ? मैले गरेको छु तिमिहरुको गोट्टीपनको महसूस। तिमीसँग नेतृत्व छैन। यही नेतृत्वको भिख माग्न गरेको विध्वंध हो त्यो? सरकार त ढलायौ कसरी उठाउछौँ? लौ न भैदिन पर्यो भनेर हार गुहार गरेर? स्थायीत्व त कल्पनाको मात्र विषय भयो यो देशमा जुन सुकै पर्टी होस २ वर्ष सरकार टिकेपछि एक प्रकारको विध्वंश राजनीतिक होस वा हिंसात्मक हुन्छ हुन्छ? कसले गर्छ किन गर्छ? बुझेका छौँ । भोली तिमीहरुको NO Corruption Movement बाट श्रृजित घटनाक्रमले चुनाव गराउन सकेन, संविधानको मूल्य मर्म बमोजिम गर्न सकेन, अन्तराष्ट्रीय रणमैदानमा देश परिणत भयो भने ? भ्रष्टाचार भन्दा ठूलो समस्या हुँदैन?

म अब यो देशमा किन बस्ने? अमुख सूमहको झोकमा राज्यसत्ता उलटपुलट हुने देशमा म किन बस्ने? भोली Gen Beta लाई चित्त नबुझेर देश खरानी बनाउदैनन् भन्ने आधार के छ ? तिमीहरुको जस्तो सनक नयाँ पिडीलाई पनि त चढ्छ। नजिर जो बसाल्यौ तिमीहरुले। Procedural Complexities छ र चाहे अनुसार काम गर्ने सकिदैन भन्ने बुझेर त तिमीहरुले नेता मानेका मन्छे अघि बढेका छैनन्। एउटा योजना, लक्ष्यविना नै झोकको भरमा मेरो संवैधानिक संरचना तहस नहस पार्ने कैयौँको सपना अन्धकार पार्ने कार्य गेरेर विदेश जाने जनशक्ति कम हुन्छ जस्तो लाग्छ? यही देशमा जसोतसो भविष्य खोज्ने हामीहरुको भविष्यता खोस्यौँ तिमीहरुले। यती कुरा त यकिनको साथ भन्ने सक्छु विदेशिने नेपाली नागरिकको संख्या पहिला भन्दा बढ्छ बढ्छ। त्यती बुझ्ने क्षमता नभए पछि यो विध्वंश मच्चाउने तिमीहरु कलङ्कित हौ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page