म्याग्देमा खुडा प्रहार काण्ड , घाइतेको अवस्था गम्भीर , जाहेरी दर्ता , ५ जना पक्राउ

म्याग्देमा खुडा प्रहार काण्ड , घाइतेको अवस्था गम्भीर , जाहेरी दर्ता , ५ जना पक्राउ

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ ट्याम्केडाडामा खुडा प्रहारबाट गम्भीर घाइते मध्येका एकको अवस्था गम्भीर रहेको छ । दसैं टिकाकाे दिनमा दुई युवा माथि भएको निर्घात कुटपिट तथा खुँडा प्रहार बाट गम्भीर घाइते भएका वाख्रे ट्याम्केडाडा बस्ने वर्ष २८ का मिलन नेपाली र वर्ष २५ का सुमन नेपाली मध्ये मिलनकाे अवस्था अझै गम्भीर रहेको हाे । पाेखरा जिएमसीमा उपचाररत रहेका मिलनकाे अबस्था गम्भीर रहेको कहिलेकाहीँ अलिअलि हाेस खुलेको जस्तो भएको र अर्का सुमनकाे अवस्थामा सुधार भएको घाइतेका आफन्तले बताएका छन् । घाइते दुबैजना दाजुभाइ हुन् ।

घटनामा संलग्न भएको भन्दै पिडित पक्षले ज्यान मार्ने उद्योग अन्तर्गत ९ जना समेतलाई किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी दिएका ९ जनामा सन्तोष सुनार , साेमबहादुर सुनार , विश्वास सुनार , विज्ञान सुनार , प्रेमबहादुर थापा , टेकबहादुर सुनार , विकास सुनार , मनबहादुर सुनार र विपना सुनार समेत अन्य रहेका छन् । आराेपित मध्ये तीन सहित अन्य दुई गरी ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे १ बाख्रे बस्ने वर्ष ४५ काे साेमबहादुर सुनार , वर्ष ३० काे सन्तोष सुनार , वर्ष ४० कि कमला विक र गैंडाकोटका ३४ वर्षीय विष्णु विक तथा वर्ष १५ काे विश्वास सुनार रहेका छन् । अन्यलाई घटना भएको राति र विश्वासलाई भाेलिपल्ट पक्राउ गरिएको हाे ।
पिडित पक्षले दिएकाे जाहेरीकाे आधारमा विज्ञान लगायतलाइ खाेजी कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ । फरार रहेका वर्ष २२ काे विज्ञान सुनार र पक्राउ परेका वर्ष १५ काे विश्वास सुनार दाजुभाइ हुन् ।

क्यारामबाेर्ड खेल्दा भएको सामान्य बिवादले उग्र रूप लिएपछि बिहीबार साँझ वाख्रे ट्याम्केडाडा बस्ने वर्ष २८ का मिलन नेपाली र वर्ष २५ का सुमन नेपाली गम्भीर घाइते भएका थिए । घाइते सुमनकाे निधारमा गहिरो चाेट लागेको छ भने मिलनकाे टाउको , ढाड र हातमा थुप्रै गहिरो चाेटहरू लागेको छ । गम्भीर अवस्थामा रहेका दुबै दाजुभाइलाई प्रदेश अस्पताल दमाैलीमा प्रारम्भिक उपचार पश्चात् पाेखरा रिफर गरिएको र अहिले उपचारको क्रममा रहेका छन् ।

प्रतक्ष्यदर्शीका अनुसार घरमा आऐर बसेका दाजुभाइलाई एक्कासि नजिकैबाट आएका एक हुलले अन्धाधुन्ध धारिलो हतियार प्रहार गर्दा रगताम्मे भएर लडेका थिए । घाइतेहरूलाइ प्रहरीको गाडीमा अस्पताल ल्याइएको थियो भने खुडा प्रहार गर्ने व्यक्तिहरूलाइ पक्राउ गर्न प्रहरीको ठुलो संख्या घटनास्थलमा पुगेको थियो । घाइतेका हजुरबुबा एवम् छिमेकी दुर्गाबहादुर विकले
खुडा , दाउरा , रड प्रहार गर्न २०/२५ जनाकाे समुह आएका बताए । घाइतेको घरबाट गुहार मागेको र चिच्याएकाे सुनेपछि दाैडेर पुगेको र हल्लाखल्ला गरेर लखेटेकाे उनलेे बताए । हामीले नलखटेकाे भए मार्ने नियतले आएका रहेछन उनलेे भने ।
स्थानीय प्रेम थापाको घरमा क्यारामबाेड खेलेको र बिवाद भएको भन्ने सुनेको तर छाेराहरू घरमा आएर बसेपछि एक्कासि आक्रमण भएको घाइतेको आमा
पार्वती नेपालीले बताइन् । छाेराहरूलाइ टाेल अध्यक्ष साेमबहादुर सुनार र उनका छाेरा विज्ञान , विश्वास लगायतले आक्रमण गरेको उनलेे बताइन् ।

अर्को पक्षले भने पहिला घाइते भएकाहरूले हतियार प्रहारकाे अवस्था ल्याएको र पछि प्रतिकार गर्दा त्यस्तो अवस्था आएकाे बताएका छन् । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page