व्यासका मेयर न्याैपानेले दिए जमुनाकाे परिवारलाई दुहुनो जर्सी गाई !
व्यास नगरपालिकाले व्यास –१० डिहिगाउँ निवासी जमुना भण्डारी पण्डितको परिवारलाई दुहुनो जर्सी गाई प्रदान गरेको छ । बिहान र बेलुकाको छाक टार्न पनि धौ–धौ रहेको यस परिवारलाई आयआर्जनमा टेवा पु¥याउने उद्वेश्यले रु.४५ हजार मूल्यको गाई नगरपालिकाले प्रदान गरेको हो ।
ज्यालामजदुरी गरी ६ जनाको परिवार पाल्दै आएका ३३ वर्षीय विशाल पण्डितको गत फागुन १० गते निधन भएपछि यो परिवार बिचल्लीमा परेका थिए ।
पतिको निधन हुँदा २८ वर्षीय जमुना १६ दिनकी सुत्केरी थिइन् । अहिले ७५ वर्षीय सासु सरस्वतीसँग जमुना संगै बस्दै आएकी छन् ।

प्रशस्त जग्गा जमिन नभएको र आम्दानीको कुनै स्रोत नभएपछि परिवार पाल्न कठिनाई भोग्दै आउनु परेको अवस्थामा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्याैपानेले उक्त सहयोग गरेका हुन् ।
व्यास नगरपालिकाबाट गोठ निर्माणका लागि रु.४० हजार विनियोजन भएपछि गोठ निर्माण गरिएको छ । नगरपालिकाको पहलमा जमुनालाई जीवन निर्वाह र आयस्रोतका लागि आवश्यक सहयोग जुटाइएको हो ।
स्थानीय युवा अगुवा बलबहादुर शाहीसँगको सहकार्यमा ४५ हजारमा गाई खरिद गरिएको हो । जमुनाले यस गाईबाट दैनिक दश लिटर दुग्ध बिक्री गरेर आम्दानी गर्न सक्ने भएकी छन् ।
“म जीवनप्रति हार खाएर बसेको मान्छे हो तर व्यास नगरपालिकाबाट यस्तो दिगो सहयोग पाउँदा नयाँ जीवनको सोच जागेको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपाने सरले पटक–पटक सान्त्वना दिनुभयो, जसले जीवनमा बाँच्न र बाबु–नानीलाई नयाँ जीवन दिन प्रेरित ग¥यो।“
आरष र एलिस दुई छोराछोरीलाई समता विद्यालयमा निशुल्क पढ्ने व्यवस्था समेत नगरपालिकाले मिलाइदिएको छ भने तीन वर्षीया छोरी अक्सुलाई सतिष अङ्ग्रेजी माध्यमिक विद्यालयले पठनपाठनको जिम्मा लिएको छ ।
उक्त गाई सोही स्थान निवासी डिहिकुना टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीद्वारा करिब ६० हजार मूल्यको गाई रु.४५ हजारमा प्रदान गरेका हुन् । गाई हस्तान्तरण गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले “दूध बिक्रीबाट आएको पैसाले जमुनाको घरखर्च चलाउन सहज हुने अपेक्षा गरिएको बताए ।

























