७० वर्षमा पनि भुजेलले नागरिकता पाएनन्
बुढेसकालले चाउरी परिसकेको अनुहार पातलो शरीर उमेरले ७० काटिसकेको छ । यो वृद्ध अवस्थामा पनि उनलेे नेपाली नागरिकता पाउन सकेकी छैनन् ।
अब बुढेसकाल पनि भइयो मर्ने बेलामा नागरिकता बनेको हेर्न मन छ, नागरिकता सिरानीमा राखेर निदाउन मन छ । उनी भन्छिन् ।
नागरिकता नबन्दा मैले त दुःख पाएँ। मेरा छोराछोरीले पनि दुःख पाइरहेका छन् लौ न कसरी बन्छ नागरिकता दिलाइदिन पर्यो , घर पुग्ने जो कोहीलाई पनि उनी यस्तै भन्छिन् ।

विक्रम सम्वत १९९० सालको भूकम्प जानुअघि मङ्गलीका बुवा सुकबर भुजेल कविलासको बाङ्गेसालबाट आमा पाकुलीको माइतीघर आबुखरिनी ५ को बरालुङ रातपाटामा घर ज्वाई बस्न आएका थिए । मङ्गलीको चार दाजुभाई पनि त्यहीँ आमाको माइतीमा जन्मिएका थिए। २०१० सालतिर जेठी छाेरी मङ्गलीको जन्म भयो। हुर्कँदै गइन् १५-१६ वर्षकै उमेरमा खान लाउनुको अभाव भएपछि उनी ज्यामी काम गर्न तयार पनि भइन् ठुली छोरी भएपछि अन्य भाइबहिनीको लालनपालन हेर्नुपर्ने भएको उनको काँधमा थप जिम्मेवारी आइपर्यो|
२०२६ सालतिर पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक खण्डको निर्माणको काम पनि त्यतिबेलै सुरु भयो। त्यही ज्यामी काम गर्न भनेर मङ्गली घरबाट निस्किन् काम गर्ने क्रममा उनीसँग एक पूर्वेली केटो कृष्णबहादुर थापा क्षेत्रीसँग भेटघाट भयाे, हिमचिम बस्यो।
मङ्गली र कृष्णबहादुरको चारजना छोराछोरी पनि जन्मिए। चार छोराछोरीको साथमा दिनचार्य गुजारा गरिरहेका थिए । गुजारा चलाउन साह्रो गाह्रो हुन थालेपछि पूर्वतिर आफ्नै घरमा लैजान मङ्गलीले पटकपटक श्रीमान कृष्णबहादुरलाई आग्रह गर्दै आइन्।
आज जाउँला भोलि जाउँला भन्दै कृष्णबहादुर अकस्मात् बिरामी भए र उनको निधन भयो मंगलीले भनिन्। पूर्व आफ्नो घर जाने सपना मङ्गलीको चकनाचुर भयो। न श्रीमानले आफ्नो ठेगाना राम्रोसँग भनेका थिए न कहिल्यै परिवारलाई भेटाए , मंगलीलाई अब झन् बज्रपात पर्यो छोराछोरीलाई कसरी हुर्काउने भनेर|

चारजना छोराछोरीलाई हुर्काउदा मंगलीकाे दुःख देखेर कान्छी बहिनी सनसरी भुजेलले आफू बसेकै स्थान बन्दीपुर ४ को लोही पाखामा आफूसँगै राख्छु भन्दा मंगलीले मानिनन् किनभने उनी पैसाले किनेर बस्न चाहन्थिन्।
मङ्गलीको जग्गा किनेर बस्ने चाहना पनि उनकै कान्छी छोरीले पुरा गरिदिइन्। उनीले त्यहाँ एउटा घडेरी सानी आमासँग किनेर आमालाई त्यही घर बनाएर राखिदिन्। मङ्गलीले जग्गा त किनिन् तर त्यो जग्गा आफ्नो नाममा भने बनाउन सकिनन् किनभने उनीसँग नागरिकता थिएन|
मङ्गलीका छोराछोरीमध्ये जेठो छोरा सुकबहादुर जो अहिले पोखरामा ज्यालामजदुरी गरेर बसेका छन् | उनकाे बिहेबारी पनि भएर एउटा नाती समेत जन्मिसकेको छ। जेठी छोरी सुकमाया र कान्छी छोरी लक्ष्मीको पनि बिहे भइसकेको छ। कान्छा छोरा तिलक भने आमा मङ्गलीसँगै बस्छन् , उनी पनि करिब ४० वर्षका छन् । बुढेसकालकाे बीच मंगली अझै पनि नागरिकता पाउने आशामा छिन् ।
























