विश्व ॐकार तथा हिन्दू महामिलन पर्व महायज्ञबाट एक लाख बचत
दमौलीलाई विश्वमञ्चमा चिनाउने अभियान अन्तर्गत व्यास गुफा परिसरमा आयोजना गरिएको ‘विश्व ॐकार तथा हिन्दू महामिलन पर्व’ को अवसरमा सम्पन्न महायज्ञबाट एक लाख रुपैयाँ बचत भएको छ। बुधबार गुफामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार महायज्ञबाट कुल ६ लाख ७ हजार ८४५ रुपैयाँ आम्दानी भएको थियो।

व्यास ऋषिको तपोभूमि दमौलीलाई विश्व हिन्दू आध्यात्मिक नक्सामा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको यो पर्व वेदअनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा भईरहेको छ र आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ।

पर्व अवधिभर रुद्री, चण्डी, वेद र पुराण पाठपरायण, ग्रहशान्ति, कालसर्पयोग निवारण, शान्तिकर्म, साथै साँझको गङ्गा आरती र हरिनाम सङ्कीर्तन दैनिक रूपमा हुने प्रतिष्ठानले जनाएको छ।
अध्यक्ष पण्डित कृष्णकान्त पण्डितले भने, “पर्वले वैदिक संस्कृतिको सन्देश विश्वभर फैलाउनेछ।” प्रतिष्ठानका संरक्षक शान्तिस्वरूपानन्द दामोदर बाबा र गोविन्द बाबा, वरिष्ठ उपाध्यक्ष ऋषिकान्त ढुङ्गाना ‘सेवक’, उपाध्यक्ष अन्जनराज न्यौपाने, तथा महासचिव सत्यप्रकाश खनालले कार्यक्रमका बारेमा बाेलेका थिए ।
पर्वको तयारीका लागि १०८ श्रीमद्भागवत ज्ञान महायज्ञ, अखण्ड हरिनाम सङ्कीर्तन र भूमिपूजन सम्पन्न भइसकेको छ। श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ कात्तिक ९ देखि १७ गते सञ्चालन गरिएको थियो, जसमा मुलवाचक आचार्य पण्डित कृष्णकान्त शाण्डिल्ययन काफ्लेले कथा वाचन गरेका थिए ।
कार्यक्रममा बरिस्ठ उपाध्यक्ष ऋषिकान्त ढुङ्गाना ‘सेवक’ले भने, “जसरी मुसलमानहरूको मक्का–मदिना र क्रिश्चियनहरूको भ्याटिकन सिटी छ, त्यसरी हिन्दू धर्मावलम्बीहरूको लागि व्यासगुफा केन्द्रीय तीर्थस्थल बन्न सक्छ। यहाँ वेदव्यासले चारवटा वेद, महाभारत र श्रीमद्भागवत पुराणको सृजनाको आरम्भ गर्नुभएको थियो। व्यासगुफा केवल नेपालको मात्र नभई विश्व हिन्दू सभ्यताको केन्द्र हो।”

























