बेलायतमा “इन्फा–२०२५” सम्पन्न हुने, नेपाली चलचित्रकर्मीलाई २५ विधामा सम्मान

बेलायतमा “इन्फा–२०२५” सम्पन्न हुने, नेपाली चलचित्रकर्मीलाई २५ विधामा सम्मान

राजेन्द्र परियार / लन्डन — नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्फा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा “इन्फा–२०२५” कार्यक्रम आगामी १५ नोभेम्बर २०२५ मा बेलायतको ग्रीनफोर्ड हल (Greenford Hall, Ruislip Rd, Greenford UB6 9QN) मा आयोजना हुने भएको छ।

संस्थाका अनुसार गत वर्ष प्रदर्शनमा आएका तथा आवेदन दिएका ५५ वटा नेपाली चलचित्रहरूलाई तीन जना निर्णायकद्वारा दुई महिनाभन्दा बढी समय लगाएर मूल्यांकन गरिएको थियो। सो मूल्यांकनको आधारमा छनोटमा परेका चलचित्रहरूबाट २५ विधामा उत्कृष्ट कलाकार, निर्देशक, निर्माता र प्राविधिकहरूलाई अवार्ड प्रदान गरिनेछ।

कार्यक्रममा नेपालबाट आएका २५ भन्दा बढी चर्चित कलाकार, निर्देशक र निर्माताहरू सहभागी हुनेछन्। साथै, विश्वभरका नेपाली कलाकारहरूले प्रस्तुत गर्ने नृत्य, गायन र हास्यव्यंग्यका कार्यक्रमहरूले समारोहलाई मनोरञ्जनात्मक बनाउने आयोजकहरूले जनाएका छन्।

दर्शकदीर्घाका साथै कार्यक्रममा स्थानीय राजनीतिक नेतृत्व, विदेशी पाहुना, विभिन्न संघ–संस्थाका प्रतिनिधि र व्यवसायीहरूको समेत उपस्थिति रहनेछ। आयोजकहरूले यो कार्यक्रमलाई नेपाली चलचित्र उद्योगमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रयासका रूपमा लिएको बताएका छन्।

मुख्य आयोजक उमेश राज मोक्तानका अनुसार, “यो कार्यक्रम केवल अवार्ड समारोह मात्र होइन, नेपाली फिल्म उद्योगको योगदानलाई विश्वमञ्चमा देखाउने साझा प्रयास पनि हो।”

कार्यक्रममा सहभागी हुन इच्छुकहरूले https://buytickets.at/infaeventsukltd/1803771 लिंकमार्फत उपस्थितिको बुकिङ गर्न सक्नेछन्। कार्यक्रम शुक्रवार, बेलुकी ५ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page