तनहुँकाे बिकास सम्बन्धमा शुक्लागण्डकीका युवा मनराजले बुझाए उर्जामन्त्रीलाइ ध्यानाकर्षण पत्र
केही दिनअघि मात्रै उज्यालो नेपाल पार्टीमा लागेका शुक्लागण्डकीका युवा मनराज गुरूङले भाैतिक पुर्वाधार तथा यातायात, ऊर्जा तथा जलस्रोत र सहरी विकास मन्त्री समेत रहेका कुलमान घिसिङलाई भेटी तनहुँकाे विकास तथा जनसवालकाे विषयलाई समेटी ध्यानाकर्षण पत्र बुझाएका छन् ।

युवा गुरूङले तनहुँ क्षेत्र नम्बर २ काे विकास निर्माण कार्यमा भएको ढिलासुस्ती र बजेट अभावले राेक्किएका विषयलाई ९ वटा बुदाँमा समेटेर ध्यानाकर्षण गराएका हुन् ।

तनहुँ जलविद्युतको स्थानीय शेयर बाँडफाँडमा गुरूङले विशेष जोड दिएका छन् । निर्माणाधिन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत परियोजना प्रभावितलाई १० प्रतिशत शेयरमा लगानी गर्न पाउने व्यवस्था मिलाउन उनको अनुरोध छ । ‘नेपालको संविधानले जलविद्युत परियोजनाबाट प्रभावित स्थानिय समुदायलाई स्थानिय शेयरमा लगानी गर्न पाउने अधिकार प्रदान गरेबमोजिम नियमानुसार जम्मा लागतको १०% प्रतिशत स्थानिय शेयर क्षेत्र नम्बर २ अन्तर्गतका सम्पूर्ण घरधुरी समावेश हुने गरेर स्थानिय शेयर वितरणको माग गर्दछु । उनलेे भनेका छन् । त्यसपछि साधारण सेयर निष्कासन गर्दा तनहुँ जिल्लालाई विशेष प्राथमिकतामा राखियोस्’, गुरुङले मन्त्री घिसिङको ध्यानाकर्षण गराए ।
यस्तै स्तरोन्नतीको क्रममा रहेको पृथ्वी राजमार्गको पश्चिम खण्डको निर्माणमा लक्ष्य अनुसारको प्रगति नभएकाले स्थलगत अनुगमन गरी समयमै सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिन उनले अनुरोध गरेका छन् ।
श्रृंग मोटर मार्ग भिमाददेखी घिरिङ देउराली खण्डमा निर्माण व्यवसायीबाट भइरहेको कानुनी झमेला सल्टाइ नियमानुसार निर्माण सम्झौता रद्द गरी शिघ्र निर्माण गर्नलाई नयाँ ढंगले निकास खोज्नुपर्ने उनको माग छ । यस्तै लामो समयदेखि राजनीतिक एजेण्डा बनिरहेको दुलगौंडा–हर्कपुर मोटर मार्गको विषयमा पनि मन्त्री घिसिङको ध्यानाकर्षण गराइएको छ ।
शुक्लागण्डकी नगरपालिकालाई म्याग्दे गाउँपालिकामा जोड्ने यो मोटरमार्गमा पनि निर्माण व्यवसायीबाट भएको ढिलासुस्तीले स्थानीयले दुख झेल्नुपरेको उनको ध्यानाकर्षणमा उल्लेख छ । नियमानुसार निर्माण सम्झौता रद्द वा शिघ्र सडक निर्माणको कार्य अगाडी बढाउन सहजीकरण गरिदिन भौतिक पूर्वाधार विकास मन्त्रालयसमेत सम्हालेका घिसिङलाई आग्रह गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर २ को भूगोल र जनघनत्वलाई आधार मानेर इलाका प्रशासन कार्यालय र मालपोत कार्यालय स्थापना गर्नुपर्ने उनले उल्लेख गरे । शुक्लागण्डकी–५ बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई भारतीय सरकारको सहयोगमा एक हजार शैय्याको बनाइ चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा विकास गर्ने प्रतिवद्धता जनाए अनुसार यथाशिघ्र प्रक्रिया अगाडि बढाउन पहल गर्न मन्त्रीसमक्ष सुझाएका हुन् ।
खैरेनीटारमा रहेको नेपाली सेनाले व्यारेकको जग्गावाहेक भोगचलन गर्दै आइरहेको ग्रामिण प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको झण्डै ८० रोपनी जग्गामा सेनाको स्वामित्व हटाइ कृषी अनुसन्धान केन्द्र पुर्नस्थापना गर्नुपर्नेमा उज्यालो नेपाल पार्टीका नेता गुरुङले ध्यानाकर्षण गराएका छन् ।
तनहुँ क्षेत्र नम्बर २ को शान्ति सुरक्षा हेर्ने गरेर इलाका प्रहरी कार्यलय बेलचौतरामा प्रहरी नायव उपरिक्षक (डिएसपी) को दरबन्दी कायम गरी सो अनुसारको स्रोत र जनशक्ति थप गर्नुपर्नेमा उनको जोड छ ।

























