राष्ट्रिय एकताको सन्देश बोकेर रूकुम देखि काठमाडौं हिँडेका केशव रावल तनहुँ आइपुगे
राष्ट्रिय एकता, शान्ति र समृद्धिको सन्देश दिने उद्देश्यसहित रुकुम पूर्वबाट सुरु गरिएको केशव रावलको पैदल यात्रा आज दसौँ दिन तनहुँ जिल्लामा प्रवेश गरेको छ।
हिमाली जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ बाट पुष १ गते सुरु गरिएको पैदल यात्राले आठौँ दिन पोखरा पुगेको थियो भने नवौँ दिन पोखराबाट अघि बढ्दै आज तनहुँकाे दमाैली आइपुगेको हो।
राष्ट्रिय झण्डा, कम्युनिष्ट पार्टीको हँसिया–हतौडा अंकित झण्डा तथा नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारा अंकित झण्डा बोकेर यात्रा गरिरहेका रावलले दैनिक ३५ देखि ४० किलोमिटरसम्म पैदल यात्रा गरिरहेको बताए। यात्राका क्रममा विभिन्न स्थानमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, पार्टी शुभेच्छुक तथा समर्थकबाट प्राप्त स्वागत, सत्कार र शुभकामनाले आफ्नो अभियान थप सशक्त बनेको उनको भनाइ छ।
आठौँ दिन कास्कीको ढिकुर पोखरी पुगेकै बेला नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रत्यक्ष टेलिफोन गरेर शुभकामना दिएको रावलले जानकारी दिए। राष्ट्रिय झण्डा र कम्युनिष्ट पार्टीका झण्डाले शान्ति, समृद्धि र एकताको सन्देश प्रवाह गरेको भन्दै प्रचण्डले दिएको शुभकामनाले आफ्नो यात्रा अझ उत्साहजनक बनेको रावलको भनाइ छ।
यात्राकै क्रममा विभिन्न स्थानमा स्थानीयसँग सडक पूर्वाधार, पर्यटन विकास तथा निर्माण कार्यका विषयमा अन्तरक्रिया गरिएको र ती क्रममा उठेका गुनासालाई पार्टी र नेतृत्वसमक्ष पुर्याइने रावलले बताए।

काठमाडौंसम्मको पैदल यात्रालाई उनले विकास निर्माणसहित राष्ट्रिय एकताको सन्देश, सहिद, बेपत्ता, घाइते तथा अपाङ्गप्रति सम्मान र समर्पणका लागि सुरु गरिएको अभियानको रूपमा व्याख्या गरेका छन्।
रावलले आफ्नो पैदल यात्राको दैनिक गतिविधि सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ अपडेट गर्दै आइरहेका छन्। रावल नेपाली कम्युनिष्ट पार्टीका लोकप्रिय युवा नेताका रूपमा परिचित छन्।


























