बन्दिपुर–२ र ३ मा तमु ल्होसार विशेष कार्यक्रम आयोजना हुने

बन्दिपुर–२ र ३ मा तमु ल्होसार विशेष कार्यक्रम आयोजना हुने

तनहुँका गुरुङ समुदायले तमु ल्होसारको अवसरमा विविध कार्यक्रम गरी पर्व मनाउने भएका छन्। मिलिजुली तमु समाजको आयोजनामा सम्पन्न कार्यसमिति बैठकले तमु ल्होसार विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।
समाजका अध्यक्ष चन्द्रज्वज गुरुङको अध्यक्षतामा बसेको बैठकले बन्दिपुर गाउँपालिका वडा नं. २ र ३ को आहालभञ्ज्याङ क्षेत्रमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रममा परम्परागत सांस्कृतिक भेषभूषासहित नृत्य, शुभकामना आदान–प्रदान, एकल तथा सामूहिक नृत्य प्रस्तुतिका साथै लोकदोहोरी गायक टक गुरुङको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको छ। गुरुङ अगुवाका अनुसार तमु पात्रोअनुसार प्रत्येक वर्ष पुष १५ गते नयाँ वर्ष फेरिने गर्दछ। यसै अवसरमा पुष १४ गते राति धार्मिक विधि–विधानसहित पूजापाठ गरी राति १२ बजे पुरानो वर्षको बिदाइ तथा नयाँ वर्षको स्वागत गर्ने चलन रहेको छ। पुष १५ गते औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी हर्षोल्लासका साथ नयाँ वर्ष मनाइन्छ।
यस वर्ष तमु सम्बत् ३२२७८ औँ नयाँ वर्षअन्तर्गत सप्हि ल्हो (नाग वर्ग) को बिदाइ र त ल्हो (घोडा वर्ग) को स्वागत गरिँदैछ। गुरुङ धार्मिक गुरुहरूका अनुसार तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् र प्रत्येक वर्ष पुष १५ गते नयाँ वर्गको आगमन हुन्छ। सोही वर्गका आधारमा व्यक्तिको उमेर पहिचान गर्ने परम्परा पनि रहेको छ।
तनहुँ जिल्लाका बन्दिपुर गाउँपालिका, आबुखैरेनी गाउँपालिका, भानु नगरपालिका, व्यास नगरपालिका, सुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका तथा ऋषिङ गाउँपालिकामा पनि विभिन्न कार्यक्रमका साथ तमु ल्होसार मनाइँदै आएको छ।


तमु ह्युँल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रको निर्देशनअनुसार भाषा, धर्म, संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रत्येक जिल्ला शाखाले तमु ल्होसार मनाउँदै आएको समाजका अध्यक्ष चन्द्रज्वज गुरुङले जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page