तनहुँ उद्योग वाणिज्य संघ दमौली इकाई सभापतिमा विन्दु श्रेष्ठको उम्मेदवारी घोषणा
दमौली, तनहुँ — तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको आगामी पुस २३ गते हुने अधिवेशनका लागि बिन्दु कुमार श्रेष्ठले सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
लामो समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका श्रेष्ठले दमौलीको व्यावसायिक विकास र सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर उम्मेदवारी दिएको बताउनुभएको छ।
श्रेष्ठसँग संघभित्र काम गरेको लामो अनुभव छ। उहाँले एक कार्यकाल कार्यसमिति सदस्यका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो भने अर्को कार्यकालमा काेशाध्यक्षमा निर्वाचित भई सफलतापुर्वक कार्यकाल पूरा गर्नुभएको छ। यस्तै पछिल्लो अधिवेशनमा स्वतन्त्र उम्मेदवारी दिएर सभापतिमा लड्नुभएकाे थियो । श्रेष्ठले संस्थाको तल्लो तहदेखि नेतृत्वदायी तहसम्मको अनुभवले व्यवसायीका समस्या बुझ्न र समाधान गर्न सहज हुने विश्वास गरिएको छ।
उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले व्यवसायीका हकहित संरक्षण, कोभिडपछिको आर्थिक मन्दीबाट प्रभावित व्यवसायको उत्थान तथा घरभाडा लगायतका समस्यामा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ। साथै दमौली र आसपासका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्ने योजना अघि सार्नुभएको छ।

तनहुँको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै त्यसलाई व्यवसायिकरणसँग जोड्ने तथा उद्योग वाणिज्य संघलाई सामाजिक उत्तरदायित्वमा समेत सक्रिय बनाउने उहाँका प्रमुख एजेन्डा रहेका छन्।
पुस २२ गते हुने अधिवेशनलाई लिएर दमौली बजारमा चुनावी चहलपहल बढ्दै गएको छ। श्रेष्ठले सबै क्षेत्रका व्यवसायीहरूको साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ।



























