राप्रपा तनहुँको ९औँ जिल्ला अधिवेशन सम्पन्न, इमबहादुर केसी अध्यक्षमा निर्विरोध

दमौली — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँको ९औँ जिल्ला अधिवेशन आज (आइतबार) दमौलीमा सम्पन्न भएको छ। उद्योग वाणिज्य हल, दमौलीमा सम्पन्न अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनबाट इमबहादुर केसी जिल्ला अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि प्रारम्भमा वर्तमान अध्यक्ष विनोद घर्ती र इमबहादुर केसीले उम्मेदवारी दर्ता गराएका थिए। तर अन्तिम समयमा विनोद घर्तीले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्।
अधिवेशनमा जिल्लाभरिका प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यदिशा, स्थानीय तहमा पार्टीको प्रभाव विस्तार तथा जनसम्पर्क अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।

नव-निर्वाचित अध्यक्ष केसीले पार्टीप्रति विश्वास व्यक्त गर्दै सबैलाई साथमा लिएर संगठनलाई बलियो बनाउने प्रतिबद्धता जनाए। उनले राप्रपाको सिद्धान्त, नीति र कार्यक्रमलाई गाउँ–गाउँसम्म पुर्याउँदै पार्टीलाई तनहुँमा सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।
त्यसैगरी, निवर्तमान अध्यक्ष विनोद घर्तीले नेतृत्व हस्तान्तरणलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो कार्यकालमा पार्टी मजबुत बनाउन सहयोग गर्ने सम्पूर्ण नेता–कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गरे।
अधिवेशनले जिल्ला कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरू पनि चयन गरेको जनाइएको छ। राप्रपाले अधिवेशनमार्फत पार्टी संगठनलाई अझ व्यवस्थित, अनुशासित र जनउत्तरदायी बनाउने संकल्प दोहोर्याएको छ।


























