म्याग्दे गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न, महत्वपूर्ण निर्णयहरू पारित

म्याग्दे गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशन आइतबार सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनले विभिन्न महत्वपूर्ण संकल्प प्रस्तावहरू पारित गर्दै निर्णयहरू गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार अधिवेशनमा उपाध्यक्ष बालकृष्ण घिमिरेले प्रस्तुत गरेका सातवटा महत्वपूर्ण संकल्प प्रस्तावहरू पारित भएका छन्। ती प्रस्तावहरूमा विगतमा गरिएको भूमि वर्गीकरणको पुनः संशोधन, सिसाजन्य फोहोर व्यवस्थापन तथा फोहोरमैला संकलन सेवा शुल्क असुली, नक्सापास विना जथाभावी घर निर्माण नियन्त्रण र तीन महिनाका लागि घर कायम प्रक्रिया सुचारु गर्ने निर्णय समावेश छन्।
त्यसैगरी पृथ्वीराजमार्ग किनारमा सडक पेटी निर्माण, खोला तथा खोल्साको मापदण्ड निर्धारण, तीन पांग्रे सवारी साधनको भाडा रुट निर्धारण तथा पृथ्वीराजमार्गले चर्चेको जग्गाको लगत कट्टा गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
अधिवेशनमा आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष बसन्तकुमार श्रेष्ठले छरिएका विद्युतका तार व्यवस्थापन तथा वडा नम्बर ३ को बेल्टारमा चारधाम र नवग्रह मन्दिर निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गरेका थिए। ती प्रस्तावहरूलाई समेत छलफल र सुझावसहित पारित गरिएको छ।

छलफलमा वडा नम्बर १ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मणिभद्र वाग्ले, वडा नम्बर २ का अध्यक्ष तथा ल्याण्डफिल साइट सञ्चालन समितिका संयोजक शिवबहादुर क्षेत्री, वडा नम्बर ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक टुकराज अधिकारी, वडा नम्बर ४ का अध्यक्ष दिपककुमार श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष तथा वन तथा वातावरण समितिका संयोजक शिवबहादुर आले र वडा नम्बर ६ का अध्यक्ष तथा भौतिक पूर्वाधार विकास समितिका संयोजक हिरालाल गुरुङले सहभागिता जनाएका थिए।
बैठकमा न्याय समिति, सार्वजनिक लेखा समिति, शुसासन समिति तथा अनुगमन समितिको अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गरी छलफलसहित पारित गरिएको थियो। साथै चालु आर्थिक वर्षको आय–व्ययको अर्धवार्षिक समीक्षा गरिएको र गाउँकार्यपालिकाले विगत ६ महिनामा गरेका सम्पूर्ण निर्णयहरू गाउँसभाबाट अनुमोदन गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए।




























