बन्दीपुर गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, नीति–ऐन तथा कार्यविधि पारित

बन्दीपुर गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, नीति–ऐन तथा कार्यविधि पारित


तनहुँको बन्दीपुर गाउँपालिकाको १८ औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त गाउँसभाले गाउँपालिका सञ्चालनका लागि आवश्यक विभिन्न नीति, ऐन, कानून तथा कार्यविधिहरू पारित गरेको छ।
गाउँपालिकाका अनुसार स्थानीय तहको कार्य सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक देखिएका नीति, ऐन, कानून तथा कार्यविधिहरू गाउँसभाबाट पारित गरिएको हो। पारित भएका यी कानूनी तथा नीतिगत व्यवस्थाहरू तत्काल कार्यान्वयनमा ल्याइने गाउँपालिकाले जनाएको छ।
गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जनतालाई प्रदान गरिने सेवा प्रभावकारी बनाउन कर्मचारी र जनप्रतिनिधिको भूमिकाको महत्त्व उल्लेख गरे। उनले कर्मचारी र जनप्रतिनिधि दुवै पक्ष सकारात्मक सोचका साथ अघि बढेमा मात्र जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह र विकास सम्भव हुने बताए। अध्यक्ष थापाले जनताको सेवा र विकासका काममा कर्मचारीलाई आवश्यक सहयोग गर्न जनप्रतिनिधिले कुनै हिच्किचाहट नगरी अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पञ्चमायाँ गुरुङले गाउँसभामा प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। त्यस्तै, विधायन समितिका संयोजक बलबहादुर गुरुङले पेश गरेका विभिन्न विधेयक तथा ऐनहरू गाउँसभाबाट सर्वसम्मत रुपमा पारित गरिएको थियो।
गाउँसभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर केसीले प्रशासनिक तथा संस्थागत पक्षका विषयमा जानकारी गराउँदै पारित भएका नीति तथा ऐनहरूको प्रभावकारी कार्यान्वयनमा प्रशासन प्रतिबद्ध रहने बताए। उनले स्थानीय सरकारको उद्देश्य अनुसार सेवा प्रवाहलाई चुस्त, छरितो र नागरिकमैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे।


गाउँसभामा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सभाबाट पारित भएका निर्णयहरूले बन्दीपुर गाउँपालिकाको समग्र विकास, सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page