म्याग्देमा निःशुल्क दन्त परीक्षण शिविर सुरु, पहिलो दिनमै ७३ जनाले लिए सेवा

म्याग्देमा निःशुल्क दन्त परीक्षण शिविर सुरु, पहिलो दिनमै ७३ जनाले लिए सेवा


म्याग्दे गाउँपालिकामा आइतबारदेखि निःशुल्क दन्त परीक्षण शिविर सञ्चालनमा आएको छ। म्याग्दे गाउँपालिका र नेलम्बो नेपाल, कास्की–पोखराको संयुक्त आयोजनामा तथा वडा नम्बर २ कार्यालयको व्यवस्थापन र समाज कल्याण परिषद्को समन्वयमा वडा नम्बर २ स्थित जामुने स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरिएको हो।
शिविरको उद्घाटन म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले गाउँपालिकावासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गाउँपालिका गम्भीर र जिम्मेवार रूपमा अघि बढिरहेको बताए। स्थानीय नागरिकलाई आफ्नै स्थानमै दन्त परीक्षण, आँखा परीक्षण तथा अन्य स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको उनले उल्लेख गरे।
म्याग्दे गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर ३ का अध्यक्ष टुकराज अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, वडा नम्बर ५ का अध्यक्ष शिवबहादुर आले, वडा नम्बर ६ का अध्यक्ष हिरालाल गुरुङ, वडा नम्बर २ का सदस्य रमेश अधिकारी तथा नेलम्बो नेपालका अध्यक्षलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले गरेका थिए।


स्वास्थ्य शाखा प्रमुख घिमिरेका अनुसार शिविरको पहिलो दिन आइतबार ७३ जनाले दन्त परीक्षण सेवा लिएका छन्। उक्त शिविर पुस २४ गतेसम्म सञ्चालन हुने छ। शिविरमा दन्त चिकित्सकसहित ७ जना स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको छ। दाँतको आरसिटी (एक्स–रे) लगायतका सुविधा पनि शिविरमार्फत उपलब्ध गराइएको छ।
गाउँपालिकाले स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदा सर्वसाधारणलाई समय र खर्च दुवैको बचत हुने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page