दमौलीमा इन्टर स्कुल ±२ बास्केटबल प्रतियोगिता हुँदै

दमौलीस्थित हैरान्स क्लबको आयोजनामा तनहुँ जिल्लामा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित विद्यार्थी छात्र–छात्रालाई लक्षित गरी Inter School ±2 Basketball Tournament (Season 4) आयोजना हुने भएको छ।
प्रतियोगिता माघ ०९ गतेदेखि ११ गतेसम्म दमौलीमा सञ्चालन हुने क्लबले जनाएको छ। प्रतियोगितामा तनहुँ जिल्लाभित्रका विभिन्न विद्यालयहरूका कक्षा ११ र १२ (±२) तहका छात्र तथा छात्राहरूको सहभागिता रहनेछ।
हैरान्स क्लबका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यालय तहदेखि नै बास्केटबल खेलको विकास गर्नु, प्रतिभावान खेलाडीहरू पहिचान गर्नु तथा उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने वातावरण सिर्जना गर्नु हो।
प्रतियोगितामा सहभागी टोलीहरूबीच लिग तथा नकआउट प्रणालीमा खेल सञ्चालन गरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने टोली र खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

क्लबले यस किसिमका प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै अनुशासन, टोली भावना र शारीरिक तथा मानसिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ।
स्थानीय खेलप्रेमी, अभिभावक तथा विद्यालय प्रशासनलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूलाई हौसला प्रदान गर्न आयोजकले आग्रह गरेको छ।


























