आन्द्रा क्यान्सरसँग जुध्दै पार्वती बिक, आर्थिक अभावले उपचारमा सकस
आन्द्रा क्यान्सरसँग जुध्दै पार्वती बिक, आर्थिक अभावले उपचारमा सकस
तनहुँ जिल्ला, व्यास नगरपालिका–१०, अधेरी भञ्ज्याङ निवासी कमल सुनारकी श्रीमती पार्वती बिक (माइत: गुणादी–१, म्याग्दे, तनहुँ) हाल गम्भीर रोग आन्द्रा क्यान्सर बाट पीडित भई उपचाररत हुनुहुन्छ।
केही समयअघि पेट दुख्ने समस्या देखिएपछि गरिएको चिकित्सकीय जाँचमा उहाँलाई क्यान्सर भएको पुष्टि भयो। त्यसयता उहाँको जीवन अस्पताल र उपचारमै सीमित बनेको छ। निरन्तर उपचार, औषधि र जाँचका कारण परिवार ठूलो आर्थिक संकटमा फसेको छ।
दैनिक मजदुरी गर्दै परिवार पाल्दै आएका श्रीमान् कमल सुनारका लागि उपचार खर्च जुटाउनु अत्यन्तै कठिन बन्दै गएको छ। घरखर्च, बालबच्चाको पढाइ र उपचार खर्च एकैसाथ धान्न नसक्दा परिवार पीडामा छ। आर्थिक अभावकै कारण कतिपय समयमा आवश्यक उपचारसमेत रोक्नुपर्ने अवस्था आएको परिवारले जनाएको छ।
पार्वती बिक अहिले पनि जीवन र मृत्युसँग संघर्ष गरिरहनुभएको छ। उहाँको उपचार समयमै र निरन्तर हुन सकेमा जीवन बच्ने आशा चिकित्सकहरूले व्यक्त गरेका छन्। तर, आर्थिक सहयोगको अभाव नै सबैभन्दा ठूलो बाधा बनेको छ।
यस कठिन घडीमा उहाँको परिवारले सहयोगी मन भएका दाता, समाजसेवी, संघ–संस्था तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू समक्ष सहयोगको अपिल गरेको छ। सानो सहयोगले पनि एउटा जीवन बचाउन ठूलो भूमिका खेल्न सक्छ।

मानवता र सहानुभूतिका साथ पार्वती बिकको उपचारमा सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गरिएको छ।


























