मनोहर माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
भानु, तनहुँ ।
भानु नगरपालिका–८ स्थित श्री मनोहर माध्यमिक विद्यालय, महन्तेहटियाको ५८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह आज मिति २०८२ पौष २१ गते सोमबार भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री शंकर कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा भानु नगरपालिकाका नगर प्रमुख श्री आनन्दराज त्रिपाठी रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा भानु नगरपालिकाकी उपप्रमुख श्री उमा गोतामे र नगर शिक्षा अधिकारी श्री ध्रुवराज पौडेल रहनुभएको थियो।
त्यसैगरी विशेष अतिथिका रूपमा भानु नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता श्री ईश्वरबहादुर घिमिरे, सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १० का वडाध्यक्ष श्री हरिहर उप्रेती तथा वडा नं. ७ का वडाध्यक्ष एवं सुशासन समितिका संयोजक श्री खुमप्रसाद श्रेष्ठ (बर्मा) को उपस्थिति रहेको थियो।
स्थानीय अभिभावकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक श्री राजेन्द्रबहादुर अधिकारी र शिक्षक श्री हरि खत्रीले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने महिला शिक्षक श्री सुजिता लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक श्री हरिमान नेपालीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
हाल २७६ जना विद्यार्थी अध्ययनरत यस विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्ष सन्तोषजनक रहेको भन्दै वक्ताहरूले प्रशंसा गरेका थिए। ‘सिक्दै कमाउँदै’ कार्यक्रमको प्रभावकारी कार्यान्वयन, एसईईसहित अन्य कक्षाहरूको शैक्षिक उपलब्धि, शिक्षकहरूबीचको जिम्मेवारी बाँडफाँड तथा टीम स्पिरिट विद्यालयको सबल पक्षका रूपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा विद्यार्थी, अभिभावक, वडाध्यक्षहरू, छिमेकी विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, पुर्कोट कालिका क्याम्पसका अध्यक्ष तथा स्थानीय शिक्षाप्रेमी र समाजसेवीहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको थप प्रगतिका लागि रचनात्मक सुझावहरू दिनुभएको थियो।
मनोहर मावि भूपू विद्यार्थी समाजले विद्यालय विकासमा खेलेको भूमिकाको पनि विशेष चर्चा गरिएको थियो। समाजले विद्यालय प्राङ्गणमा आकर्षक मञ्च निर्माण, ब्याडमिन्टन कोर्ट तथा टेबलटेनिस कोर्ट स्थापना, विपन्न विद्यार्थीका लागि पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति कोष स्थापना, विभिन्न शैक्षिक तथा प्रतियोगितात्मक कार्यक्रम सञ्चालन, न्यानो कपडा वितरण तथा सहयोगदाताको नाम शिलालेखमा उल्लेख गर्ने जस्ता कार्यहरू गरेको जानकारी गराइएको थियो।
वार्षिकोत्सव समारोहलाई सरल, मितव्ययी र प्रभावकारी बनाइएको भन्दै विद्यालयको पहलको प्रशंसा गरिएको थियो। विद्यार्थी कलाकारहरूद्वारा प्रस्तुत सामुदायिक विद्यालयप्रतिको दृष्टिकोण झल्काउने लघुनाटक अत्यन्त सन्देशमूलक र प्रशंसनीय रहेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिनुका साथै शिक्षक–कर्मचारी, भूपू विद्यार्थी समाजका पदाधिकारी र सहयोगदाताहरूलाई सम्मान गरिएको थियो। बीच–बीचमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।

समारोहको अन्त्यमा विद्यालयमा अध्ययनरत सम्पूर्ण बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै “जय मनोहर मावि, जय शिक्षा, जय बालबालिका, जय भानु” भन्ने नारासहित कार्यक्रम सम्पन्न भएको थियो।

























