आदिकवि भानुभक्त र द्रव्य शाह बहुमुखी क्याम्पसबीच ‘असल अभ्यास’ सम्बन्धी अन्तरक्रिया सम्पन्न
दमौली ।
तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पस र गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसबीच ‘असल अभ्यास (Best Practices)’ विषयक संस्थागत अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ।
आदिकवि भानुभक्त क्याम्पसको तालिम हलमा आयोजित कार्यक्रममा दुवै क्याम्पसले शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन र अनुभव आदानप्रदानका विषयमा छलफल गरेका हुन्। कार्यक्रम आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो। क्याम्पस उपाध्यक्ष श्रीराम कार्कीले स्वागत मन्तव्य राख्दै सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुवै क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (UGC) बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त गरिसकेका छन्। अन्तरक्रियाका क्रममा द्रव्य शाह बहुमुखी क्याम्पसका प्रमुख एकदेव अधिकारी तथा आदिकवि भानुभक्त क्याम्पसका आईक्यूएसी (IQAC) प्रमुख बिमल गिरीले आ–आफ्नो क्याम्पसले अपनाएका सफल अभ्यासबारे विस्तृत प्रस्तुतिकरण गर्नुभएको थियो।
प्रस्तुतिपछि सहभागीहरूले उठाएका जिज्ञासाहरूलाई आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले प्रस्ट पार्नुभएको थियो। दुवै क्याम्पसबीच संस्थागत सहकार्यको सम्झौता भइसकेको छ भने द्रव्य शाह बहुमुखी क्याम्पस हाल QAA को दोस्रो चक्रको तयारीमा रहेको जानकारी गराइएको थियो।
कार्यक्रममा दुवै क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूमा कुलबहादुर कुँवर, शंकर बहादुर कुँवर, टेकबहादुर राना, ज्ञानहरी अर्याल, डा. बद्रीकुमार कार्की, डा. रामकुमार अधिकारी, राजन घिमिरेलगायतको उपस्थिति थियो।

कार्यक्रमको अन्त्यमा दुई क्याम्पसबीच ‘मायाको चिनो’ आदानप्रदान गरिएको थियो। द्रव्य शाह बहुमुखी क्याम्पसका तर्फबाट भ्रमण टोलीका संयोजक तथा सञ्चालक समिति उपाध्यक्ष मोहनप्रकाश पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले गर्नुभएको थियो।

























