तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाईकाे सभापतिमा श्रेष्ठ
बन्दीपुर, पुस २४ । तनहुँ उद्योग वाणिज्य सङ्घ अन्तर्गत बन्दीपुर बजार इकाइको ३०औँ साधारण सभा तथा १३औँ अधिवेशन बिहीबार सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ नेतृत्व निर्विरोध चयन गरिएको छ।
अधिवेशनले बुद्धिकुमार श्रेष्ठलाई सभापतिमा निर्विरोध चयन गरेको छ। यस्तै उपसभापतिमा सरस्वती श्रेष्ठ, कोषाध्यक्षमा हितमान गुरुङ चयन भएका छन्। सदस्यहरूमा राजन श्रेष्ठ, इन्जिनियर तारा भट्टराई, लक्ष्मी श्रेष्ठ र रामबहादुर बिक निर्विरोध चयन भएका हुन्।
संस्थाको विधानअनुसार सचिव, सह–कोषाध्यक्ष तथा एक जना सदस्य भने कार्यसमितिको पहिलो बैठकबाट मनोनयन गर्ने निर्णय गरिएको छ।
१३औँ अधिवेशनअन्तर्गत आयोजित कार्यक्रममा घनश्याम उपाध्यायको अध्यक्षता रहेको थियो भने बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

निर्वाचनका लागि विशिष्ट अतिथि तथा निर्वाचन संयोजकका रूपमा तनहुँ उद्योग वाणिज्य सङ्घका सह–कोषाध्यक्ष प्रकाशचन्द्र हडखलेको उपस्थिति रहेको थियो। कार्यक्रममा बन्दीपुर इकाइका निवर्तमान सभापति वैशबहादुर गुरुङ, पूर्व सभापति कृष्ण पिया, तनहुँ उद्योग वाणिज्य सङ्घ महिला उद्यमी समितिकी सभापति संगीता प्रधान, बन्दीपुर होटल सङ्घकी अध्यक्ष फुलमती थापालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा व्यवसायी, उद्योगी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले बन्दीपुर बजारको व्यापार, पर्यटन तथा उद्यमशीलता विकासमा उद्योग वाणिज्य सङ्घको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

























