दीपक माविको ५३औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती भव्य रूपमा सुरु
भिमाद, तनहुँ । भिमाद नगरपालिका–५ स्थित ऋषिङ्गपाटनमा रहेको दीपक माध्यमिक विद्यालयको ५३औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती बुधबार भव्य रूपमा सुरु भएको छ। कार्यक्रमको औपचारिक उद्घाटन भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले सामुदायिक विद्यालयहरू शैक्षिक गुणस्तर सुधार, अनुशासन र समग्र व्यक्तित्व विकासका आधारस्तम्भ भएको उल्लेख गर्नुभयो। उहाँले दीपक माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउँदै स्वर्ण जयन्ती विद्यालयको गौरवपूर्ण इतिहास र उज्ज्वल भविष्यसँग जोडिएको महत्त्वपूर्ण अवसर भएको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमकी विशिष्ट अतिथि तथा नगर उपप्रमुख शारदा खनालले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले यस्ता सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिले विद्यार्थीको सकारात्मक सोच, नेतृत्व क्षमता र प्रतिभा विकासमा सहयोग पुग्ने बताउनुभयो।
त्यसैगरी वडा नं. ५ का अध्यक्ष पदमबहादुर थापाले दीपक माध्यमिक विद्यालय ऋषिङ्गपाटन क्षेत्रको शैक्षिक पहिचान बनेको उल्लेख गर्दै विद्यालय र समुदायबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय तहबाट आवश्यक सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन अवसरमा विभिन्न झाँकी प्रदर्शनसहित ऋषिङ्गपाटन क्षेत्र परिक्रमा आयोजना गरिएको थियो। विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य सहभागितामा सम्पन्न परिक्रमाले स्वर्ण जयन्तीको उत्साह झल्काएको थियो।
स्वर्ण जयन्ती कार्यक्रम पुष २५, २६ र २७ गतेसम्म विविध शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिसहित सञ्चालन हुने मूल समारोह समितिका संयोजक बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो। उहाँका अनुसार सेतीकाली साहित्य संगमको आयोजनामा विद्यालयस्तरीय कविता वाचन तथा लोकनृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ।
प्रतियोगितामा भिमाद नगरपालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास विव्यस अध्यक्ष तथा सेतीकाली साहित्य संगमका अध्यक्ष नारायण कैलाश सिग्देलले व्यक्त गर्नुभयो।

स्वर्ण जयन्ती अवसरमा आगामी दिनहरूमा सम्मान कार्यक्रम, सांस्कृतिक प्रस्तुति, शैक्षिक प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना गरिने विद्यालयले जनाएको छ। यसैबीच विद्यालयका प्रधानाध्यापक उत्तम खनियाका अनुसार पुष २५ गते विद्यालयस्तरीय भलिबल प्रतियोगिता समेत आयोजना गरिने छ।


























