भिमादमा माघ १ गतेदेखि सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

भिमाद, तनहुँ —
तनहुँको भिमादमा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागितामा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। खेलकुद क्षेत्र तथा खेलाडीहरूको विकास गर्ने उद्देश्यसहित वेष्ट ब्वाइज क्लबको आयोजनामा आगामी माघ १ गतेदेखि ‘फस्ट बेस्ट ब्वाइज भलि फेस्ट–०८२’ सञ्चालन हुन लागेको हो।
आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत गण्डकी प्रदेशमै टाइगर कपपछि र तनहुँ जिल्लामै सर्वाधिक पुरस्कार राशिसहितको भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ। क्लबका अध्यक्ष संसार अञ्जान सुवेदीले भलिबल खेलाडीहरूको विकास गर्दै भिमादलाई खेलकुद क्षेत्रको हब बनाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबहरूको सहभागिता रहने उहाँको दाबी छ।
प्रतियोगितामा कुल ६ टिम सहभागी हुनेछन्। प्रतियोगिताको विजेता टिमले ३ लाख १ हजार १ सय ९९ रुपैयाँ, उपविजेताले २ लाख १ हजार १ सय ९९ रुपैयाँ तथा सान्तवना हुने दुई टिमले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही १० हजार रुपैयाँसहित सम्मान पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको अवधिभर देशका ख्यातिप्राप्त कलाकारहरू समिक्षा अधिकारी, प्रकाश दुतराज, अर्जुन सापकोटा, बद्रि पंगेनी, शान्तारानी परियार, निश्चल दवाडी, आश्मा विश्वकर्मा तथा सविन राई एण्ड द फ्यारोको सांगीतिक प्रस्तुति रहनेछ।
प्रतियोगिता सफल पार्न गोर्खा ब्रुअरी, टाइगर ग्रुप अफ पोखरा, अमेरिकास्थित व्यास इन्टरटेन्मेन्ट, भिमाद नगर उद्योग वाणिज्य संघलगायत विभिन्न संघ–संस्थाको सहयोग रहने आयोजकले जनाएको छ। भिमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष चतुर्भुज सुवेदीले प्रतियोगितालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यस्तै प्रतियोगिता अवलोकनका लागि माघ १, २, ४ र ५ गते प्रवेश टिकट शुल्क २०० रुपैयाँ तथा माघ ३ गतेका लागि ५०० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ।


























