अध्यक्षमा मल्ल लगभग तय , बरिष्ठ उपाध्यक्षले तनहुँ उद्योग वाणिज्य संघ हल्लियो
तनहुँ उद्योग वाणिज्य संघको ४०औँ वार्षिक साधारण सभा तथा १८औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयन सहमतिको प्रयासमै अड्किएको छ, तर समस्या भने झन् पेचिलो बन्दै गएको छ।
पौष २७ गते आइतबार हुने साधारण सभाबाट संघको नयाँ नेतृत्व चयन हुने भए पनि अध्यक्ष पदमा इमकुमार मल्ल सर्वसम्मत हुने करिब निश्चित देखिएको छ। तर अध्यक्ष तय भएसँगै बरिष्ठ उपाध्यक्ष पद संघभित्रको सबैभन्दा ठूलो विवादको केन्द्र बनेको छ।
हाल सहमतिकै लागि पूर्व अध्यक्ष, सल्लाहकार तथा प्रभावशाली व्यवसायीहरूबीच निरन्तर छलफल भइरहेको छ। सबै पक्ष चुनाव टार्न चाहन्छन्, तर सहमतिमा पुग्ने बाटो भने अझै खुल्न सकेको छैन।
एकातर्फ, पूर्वतर्फका इकाईहरू— आबुखैरेनी, बन्दिपुर, डुम्रे, विमलनगर, भानु बजार—ले पूर्व सहमति अनुसार डुम्रेका सुवोध अधिकारीलाई बरिष्ठ उपाध्यक्ष बनाइनु पर्ने अडान कायमै राखेका छन्। उनीहरूको भनाइ छ— “पश्चिम साइडका शुक्ला–भिमाद इकाई अलग भइसकेपछि संघको मुख्य कार्यक्षेत्र पूर्वमै सीमित छ, त्यसैले प्रतिनिधित्व पनि त्यहीअनुसार हुनुपर्छ।”
अर्कोतर्फ, हालका प्रथम उपाध्यक्ष कुमार मल्ल ले भने ‘अध्यक्ष मल्ल बनेपछि बरिष्ठ उपाध्यक्षमा मेरो पालो स्वाभाविक हो’ भन्ने दाबी छाडेका छैनन्। परम्परा र वरिष्ठताको आधार देखाउँदै उनले आफूलाई पछि हट्न नसक्ने अवस्थामा रहेको बताउँदै आएका छन्।
यही दुई दाबीबीच सहमति खोज्ने प्रयास भइरहे पनि दुवै पक्ष अडानमा रहँदा समस्या झन् गाँठागुँठी बनेको संघ स्रोत बताउँछन्।
स्रोतका अनुसार, यदि अन्तिम क्षणसम्म पनि सहमति जुट्न सकेन भने संघ निर्वाचनमा जान बाध्य हुन सक्छ, जसले संघभित्र दीर्घकालीन असर पार्ने चिन्ता बढ्दै गएको छ।

अब संघभित्र एउटै प्रश्न गुञ्जिएको छ—
अध्यक्ष मल्ल बन्दा बरिष्ठ उपाध्यक्षमा कुमार कि सुवोध ? यसको जवाफले नै तनहुँ उद्योग वाणिज्य संघको आगामी नेतृत्व र एकताको दिशा तय गर्नेछ। संघको निर्वाचन भने यही ३० गते हुने बताइएको छ ।


























