म्याग्दे उद्योग वाणिज्य संघद्वारा प्रमुख जिल्ला अधिकारी तिवारी र प्रहरी प्रमुख कार्की सम्मानित

तनहुँ । भर्खरै दर्ता भई आधिकारिकता प्राप्त गरेको म्याग्दे उद्योग वाणिज्य संघले तनहुँ सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी सिवलाल तिवारीलाई स्वागत तथा सम्मान गरेको छ।
सोमबार म्याग्दे गाउँपालिकाको सभाहलमा म्याग्दे गाउँपालिका भित्र पृथ्वी राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूका लागि आयोजना गरिएको अभिमुखीकरण तालिम कार्यक्रमका अवसरमा प्रमुख जिल्ला अधिकारी तिवारीलाई सम्मान गरिएको हो। सोही अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेकबहादुर कार्कीलाई समेत सम्मान गरिएको थियो।
म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष शुन्दरमणि अधिकारीलगायत संघका पदाधिकारीहरूले प्रमुख जिल्ला अधिकारी तिवारी र प्रहरी प्रमुख कार्कीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, खाद्य डिभिजन प्रमुख ज्योति आचार्य, म्याग्दे उद्योग वाणिज्य संघका पदाधिकारीहरू तथा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले व्यवसायीहरूलाई कानुनी दायरा भित्र रही सेवा सञ्चालन गर्न, खाद्य स्वच्छता र गुणस्तरमा ध्यान दिन तथा प्रशासन, प्रहरी र व्यवसायीबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।



























