शुक्लागण्डकीमा तीन जनाको विभत्स हत्या : दुईको सनाखत, एकको अझै पहिचान खुल्न बाँकी

शुक्लागण्डकीमा तीन जनाको विभत्स हत्या : दुईको सनाखत, एकको अझै पहिचान खुल्न बाँकी

दमौली, पुस २८
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित सेती नदीको बगरमा मृत फेला परेका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ भने एक जनाको अझै पहिचान हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृतकमध्ये एक पुरुष र एक महिलाको सनाखत भएको हो। पुस २६ गते बिहान शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। पुस २७ गते पहिलो मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (प्रनाउ) श्रवणकुमार विकले जानकारी दिनुभयो।
उहाँका अनुसार सनाखत हुने पुरुष शुक्लागण्डकी नगरपालिका–११ निवासी ४१ वर्षीय नारायण बि.क. हुनुहुन्छ। पोस्टमार्टमपछि उहाँको शव आफन्तलाई बुझाइसकिएको प्रहरीले जनाएको छ।
त्यस्तै, सोमबार साँझ (पुस २८ गते) अर्की एक मृतक महिलाको पनि पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक महिला भिमाद नगरपालिका–८, भागर निवासी ५८ वर्षीया देउमाया थापा हुनुहुन्छ। उहाँका छोराले शवको सनाखत गरेपछि पोस्टमार्टम गरी परिवारलाई हस्तान्तरण गरिएको प्रनाउ विकले बताउनुभयो।


सेती नदीको बगरमा एकैसाथ तीन जनाको शव भेटिए पनि बाँकी एक पुरुषको भने अझै पहिचान खुल्न सकेको छैन। बाँकी शवको सनाखतका लागि विभिन्न माध्यमबाट प्रयास भइरहेको प्रहरीले जनाएको छ।
घटनाको प्रकृति, कारण र सम्भावित अपराधबारे गम्भीरताका साथ विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page