म्याग्देमा होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता स्तरीकरणका लागि अभिमुखीकरण कार्यक्रम

म्याग्देमा होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता स्तरीकरणका लागि अभिमुखीकरण कार्यक्रम


तनहुँको म्याग्दे गाउँपालिका भित्र सञ्चालित होटल तथा रेष्टुरेन्टहरूको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गर्ने उद्देश्यले होटल व्यवसायी लक्षित अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ।
म्याग्दे गाउँपालिका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँको संयुक्त आयोजना र म्याग्दे उद्योग वाणिज्य सङ्घको सहकार्यमा पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई खाद्य सुरक्षा र गुणस्तरसम्बन्धी प्रशिक्षण प्रदान गरिने भएको हो। कार्यक्रममा खाद्य स्वच्छता सम्बन्धी ऐन, नियम र गुणस्तर कार्यान्वयनका विषयमा सरोकारवालासँग अभिमुखीकरण गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सिवलाल तिवारीले खाद्य स्वच्छता नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले होटल तथा खाद्य व्यवसायीले कानुन र मापदण्डको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय तह, प्रशासन, प्रहरी तथा सरोकारवाला निकायबीचको समन्वयबाट मात्र प्रभावकारी अनुगमन सम्भव हुने उल्लेख गर्नुभयो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्यले खाद्य स्वच्छता कायम राख्न विभागले खेलेको भूमिका, राष्ट्रिय खाद्य स्वच्छता नीति २०७६, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ का प्रावधान, दूषित तथा न्यूनस्तरीय खाद्य पदार्थ, ढाँटी–झुक्याइ जस्ता कसुर र त्यसमा हुने सजाय, खाद्य अनुमति पत्र लिने व्यवस्था तथा संघ, प्रदेश र स्थानीय तहको अधिकारबारे प्रस्ट पार्नुभयो। तीनै तहको सहकार्यबाट मात्र जनताले महसुस गर्ने सुधार सम्भव हुने उहाँको भनाइ थियो।
कार्यक्रमको अध्यक्षता गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले धार्मिक तथा पर्यटकीय क्षेत्र भएको म्याग्दे गाउँपालिकामा खाद्य स्वच्छताको विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो। पृथ्वीराजमार्ग क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढी हुने भएकाले सुरक्षित र गुणस्तरीय खाना सुनिश्चित गर्न गाउँपालिकाले कडाइका साथ अनुगमन गर्ने अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो।


म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले गाउँपालिकाले खाद्य डिभिजनसँग सहकार्य गरी होटल तथा रेष्टुरेन्टको नियमित अनुगमन गर्ने र मापदण्ड पूरा गर्ने व्यवसायलाई गुणस्तर चिन्ह प्रदान गरिने जानकारी दिनुभयो। घ्यू जस्तो देखिने गरी अस्वाभाविक एमआरपी राख्ने, बेकरी सर्टेनिङ प्रयोग गर्ने, मूल्य सूची नराख्ने होटल–पसल, अनुमति पत्र नलिएका खाद्य उद्योग तथा फोहोर जारमा पानी भर्ने उद्योगलाई कारबाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्कीले खाद्य सुरक्षासँग जोडिएका अपराध नियन्त्रणमा प्रहरी प्रशासन सदैव सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो।
म्याग्दे गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई नीतिगत, कानुनी तथा उपभोक्ता ऐनसम्बन्धी जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। पहिलो चरणमा विज्ञ तथा सरोकारवाला निकायबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ।
म्याग्दे उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दरमणि अधिकारीले धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले यहाँ धेरै व्यक्तिले खाना तथा खाजा सेवन गर्ने हुँदा होटल व्यवसायीलाई प्रशिक्षित गर्ने उद्देश्यले कार्यक्रम तयार गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डीपी अधिकारी हाेटल व्यवसायी महासंघका दुर्गाबिलास भट्टराई लगायत सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा खाद्य डिभिजन प्रमुख ज्योति आचार्य, अनुसा खरेललगायतले प्रशिक्षण दिनुभएको थियो भने स्वागत मन्तव्य म्याग्दे उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुरेन्द्र अधिकारीले गर्नुभएको थियो।सो अवसरमा जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुखलाई स्वागत कार्यक्रमसमेत आयोजना गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page