तनहुँ उद्योग बाणिज्य संघमा पदाधिकारी मिलाउन ‘फलामको चिउरा’ ३० गते चुनाव !
तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा इमकुमार मल्ल निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी पदमा सहमति जुट्न नसक्दा ३० गते निर्वाचन हुने सम्भावना बलियो बन्दै गएको छ। सहमतिका लागि प्रयास जारी रहे पनि हालसम्म ठोस सहमति नबन्दा चुनावतर्फै माहोल मोडिएको देखिन्छ।
अध्यक्ष बाहेकका प्रमुख पदहरूमा बहुआयामिक प्रतिस्पर्धा देखिएपछि पदाधिकारी मिलाउन ‘फलामको चिउरा’ जस्तै भएको संघभित्रै चर्चा छ। उम्मेदवारहरू आ–आफ्नो दाबीमा अडिग रहँदा सहमतिको सम्भावना न्यून रहेको स्रोतले जनाएको छ।
वरिष्ठ उपाध्यक्ष पदका लागि कुमार मल्ल र सुवोध अधिकारी मैदानमा छन्। प्रथम उपाध्यक्ष पदमा दिनेशकुमार श्रेष्ठ, सुरेश पुरी र दीपक कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ। द्वितीय उपाध्यक्ष पदका लागि प्रकाशचन्द्र हड्खले, भिमलाल श्रेष्ठ र राजकुमार श्रेष्ठ उम्मेदवार बनेका छन्।

त्यसैगरी कोषाध्यक्ष पदका लागि भूपाल आले, शिवओम मल्ल र महेश मल्लले उम्मेदवारी दर्ता गराएका छन्। बस्तुगत सदस्यतर्फ अधिकृत विक्रेता संघ, नेपाल स्टेशनरी व्यवसायी महासंघ र सुनचाँदी व्यवसायी संघ उम्मेदवार बनेका छन्।
“सहमतिको प्रयास भइरहे पनि अधिकांश उम्मेदवार चुनावमै जाने पक्षमा देखिएका छन्,” संघका एक पदाधिकारीले नाम नखुलाउने सर्तमा बताए।
निर्वाचन समितिका अनुसार आज दिउँसोसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। तर हालसम्मको अवस्था हेर्दा धेरै उम्मेदवारले उम्मेदवारी फिर्ता लिने सम्भावना कम देखिएको छ। सहमति जुट्न नसके ३० गते तोकिएकै मितिमा निर्वाचन हुने लगभग निश्चित देखिएको छ।
संघको नेतृत्व चयनलाई लिएर बजार र व्यवसायिक वृत्तमा चासो र चर्चा तीव्र बनेको छ।


























