नेपाली काँग्रेसको केन्द्रीय नेतृत्वमा तनहुँको बर्चस्व, प्रदीप पौडेल महामन्त्री
काठमाडौं । नेपाली काँग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट तनहुँ जिल्लाले केन्द्रीय नेतृत्वमा उल्लेख्य उपस्थिति जनाएको छ। तनहुँबाट महामन्त्रीसहित चार जना नेता केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका छन्।
शुक्लागण्डकी नगरपालिका निवासी युवा नेता प्रदीप पौडेल महामन्त्री पदमा निर्वाचित हुनुभएको छ। विद्यार्थी राजनीतिबाट उदाएका पौडेलको विजयलाई पार्टीभित्र युवा पुस्ताको सशक्त उदय र वैचारिक नेतृत्वको संकेतका रूपमा हेरिएको छ।
महामन्त्री पौडेलसँगै तनहुँबाट तीन जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। ध्रुव वाग्ले व्यास नगरपालिका निवासी नेता हुन्, जो खुला समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो। त्यस्तै, चिनु पोख्रेल भानु नगरपालिका निवासी नेतृ महिलातर्फको कोटाबाट केन्द्रीय सदस्यमा चयन हुनुभएको छ। प्रकाश पन्थ व्यास नगरपालिका निवासी नेता अपाङ्गता भएका व्यक्तिको कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।

एकैपटक तनहुँका चार जना नेताहरु पार्टीको केन्द्रीय नीति निर्माण तहमा पुगेपछि जिल्लाका कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरुमा उत्साह छाएको छ। यस प्रतिनिधित्वले पार्टी संगठन सुदृढीकरणका साथै तनहुँ जिल्लाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।



























