आठौं व्यास नगर अल्ट्रा म्याराथन माघ १६ मा

आठौं व्यास नगर अल्ट्रा म्याराथन माघ १६ मा


तनहुँ । सहिद दिवसको अवसर पारेर तनहुँको व्यास नगरपालिकाले पर्यटन, संस्कृति र इतिहासलाई एकसाथ जोड्ने उद्देश्यसहित ‘आठौं व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ। ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान : व्यास नगरपालिकाको अभियान’ भन्ने नारासहित माघ १६ गते हुने उक्त प्रतियोगिताले खेलकुदलाई पर्यटन प्रवर्धनको माध्यम बनाउने विश्वास लिइएको छ।
नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो। ४४ किलोमिटर लामो यो अल्ट्रा म्याराथन व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटबाट सुरु भई व्यास नगरपालिका–८ को सहिद गाउँ पुलिमराङमा पुगेर समापन हुनेछ।
मानुङकोट, अलैचे, चापाघाट, अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै पुलिमराङसम्म फैलिएको मार्ग प्राकृतिक सुन्दरतासँगै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको छ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अल्ट्रा म्याराथन केवल खेलकुद प्रतियोगिता मात्र नभई सहिदको बलिदान स्मरण गर्ने र स्थानीय पहिचान उजागर गर्ने अभियान भएको बताउनुभयो। उहाँले भन्नुभयो,
“यो दौड हाम्रो इतिहास, संस्कृति र सहिदप्रतिको सम्मानसँग जोडिएको छ। यसले मगर र गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्‍याउनेछ।”
नगरपालिकाका सूचना अधिकारी केदारराज आचार्यका अनुसार प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन सबै तयारी पूरा गरिएको छ। धावकको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न स्थानमा चेकपोइन्ट, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा प्राथमिक उपचार टोली परिचालन गरिनेछ। सहभागीलाई मार्ग निर्देशन, आवश्यक सूचना र सुरक्षामा कुनै कमी हुन नदिइने उल्लेख उहाँले गर्नुभयो।
व्यास नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ कुमारले अल्ट्रा म्याराथनले व्यास नगरपालिकाका ग्रामीण बस्ती, धार्मिक स्थल र ऐतिहासिक क्षेत्रलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताउनुभयो। मानुङकोटदेखि पुलिमराङसम्मको मार्ग आफैंमा पर्यटन सम्भावनाले भरिपूर्ण रहेको उहाँको भनाइ छ।
आयोजकका अनुसार प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट २०० भन्दा बढी व्यावसायिक तथा सौखिन धावकको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ८५ हजार ७७, ६५ हजार ७७ र ५५ हजार ७७ रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै पाँच जना धावकलाई सान्त्वना पुरस्कारस्वरूप जनही १६ हजार ७७ रुपैयाँ प्रदान गरिनेछ।


खेलकुद, संस्कृति र पर्यटनलाई एउटै मञ्चमा जोड्ने यो अल्ट्रा म्याराथनले व्यास नगरपालिकालाई चिनाउने मात्र होइन, स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page