हंसवाहिनी माध्यमिक विद्यालयको ६६औँ वार्षिक उत्सव सम्पन्न
कोत्रे, माघ ३
श्री हंसवाहिनी माध्यमिक विद्यालय, शुक्लागण्डकी नगरपालिका–२, कोत्रेले आफ्नो ६६औँ वार्षिक उत्सव तथा ५४औँ अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रम शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख (मेयर) कृष्णराज पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्योति प्रकाश तिमिल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–२ का वडा अध्यक्ष सुमन राना विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा विभिन्न शिक्षा प्रेमीहरूले स्थापना गरेका अक्षयकोषबाट प्राप्त ब्याज रकममार्फत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको थियो। साथै पोखरा–३३ निवासी समाजसेवी गोपालबहादुर कार्कीले विद्यालयमा क्यारी निर्माणका लागि रु १,७५,५५५ तथा विभिन्न विधाका लागि रु १३,००० र थप कार्यका लागि रु २,००० गरी जम्मा रु १,९०,५५५ सहयोग रकम प्रदान गर्नुभएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कविराज खनालले विद्यालयको आर्थिक आय–व्ययसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सम्पूर्ण चन्दादाता, दानवीर तथा शिक्षा प्रेमीहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विस्तारका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। साथै अभिभावकहरूलाई आफ्ना छोराछोरीको पढाइप्रति विशेष ध्यान दिन र शिक्षकहरूसँग नियमित शैक्षिक परामर्श लिन आग्रह गर्नुभयो।
कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका अप्सरा अधिकारीले गर्नुभएको थियो।

























