बन्दीपुरमा सम्पन्न पाँचौँ राष्ट्रिय बाख्रा दिवसमा २० उत्कृष्ट बाख्रापालक कृषक सम्मानित
बन्दीपुर, तनहुँ ।
“व्यवसायिक बाख्रापालन नेपालीको शान, मासुमा आत्मनिर्भर हाम्रो अभियान” भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय बाख्रा दिवस–२०८२ बन्दीपुर गाउँपालिका–४ स्थित टुँडीखेलमा भव्य, सभ्य तथा सफल रूपमा सम्पन्न भएको छ।
ग्रामीण अर्थतन्त्र सुदृढीकरण, रोजगारी सिर्जना तथा आत्मनिर्भर कृषि प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा तनहुँ जिल्लाका १० वटै पालिकाबाट दुई–दुई जना गरी २० जना उत्कृष्ट बाख्रापालक कृषकलाई सम्मान गरिएको हो।
सम्मानित कृषकहरूमा बन्दीपुर गाउँपालिका–६ की रिता चित्रकार, बन्दीपुर–१ की भागीरथी अधिकारी, भानु नगरपालिका–१० का धनबहादुर गुरुङ, भानु–४ की आसामाया कुमाल, ऋषिङ–२ का नारायण राना, ऋषिङ–५ का माधव गौतम, म्याग्दे–५ का सामेल गुरुङ, म्याग्दे–६ का दानबहादुर आले, घिरिङ–२ की सिता थापा, घिरिङ–३ का किशान श्रेष्ठ, आँबुखैरेनी–१ का पूर्णबहादुर मगर, आँबुखैरेनी–४ का बुद्धिबहादुर गुरुङ, व्यास नगरपालिका–१० का बाबुराम पौडेल, व्यास–१४ का सन्तोष आले, सुक्लागण्डकी नगरपालिकाका अभिषेक थापा मगर र पाण्डव लामिछाने, भिमाद–९ का शिवकुमार आले र याममाया क्षेत्री तथा देवघाट गाउँपालिका–३ का मोहनकुमार श्रेष्ठ र गौरिमान आले रहेका छन्।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ, बन्दीपुर गाउँपालिका, भानु नगरपालिका, नेपाल व्यावसायिक बाख्रापालक महासंघ तथा राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका संयोजक डा. राजु आचार्यले गर्नुभएको थियो भने सहजीकरण नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष यमप्रसाद आचार्यले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले स्थानीय सरकारले बाख्रापालनलाई प्राथमिक क्षेत्रका रूपमा अघि बढाउँदै बजार व्यवस्थापनमा सहकार्य गरिने बताउनुभयो। भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले व्यावसायिक बाख्रापालनले गाउँमै रोजगारी र समृद्धिको ढोका खोल्ने उल्लेख गर्नुभयो।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. रविन्सन अधिकारीले बाख्रापालनले ग्रामीण अर्थतन्त्र सुदृढ गर्नुका साथै मासु उत्पादनमा आत्मनिर्भर बन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। साथै उहाँले रोग नियन्त्रण, खोप कार्यक्रम तथा प्राविधिक सेवाको पहुँच विस्तारमा जोड दिनुभयो।
कार्यक्रममा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ, वडा अध्यक्षहरू शिवकुमार श्रेष्ठ र तिलकबहादुर कुँवर, नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय सचिव कुशलचन्द्र अधिकारी, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यलगायत स्थानीय जनप्रतिनिधि, प्राविधिक, कृषक तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार दुर्गम क्षेत्रमा निरन्तर मेहनत गरेका, महिला तथा आदिवासी जनजाति कृषक, वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय सुरु गरेका युवा तथा पकेट प्रणालीमार्फत सामूहिक उत्पादन बढाएका कृषकलाई सम्मान गरिएको हो। सहभागीहरूले कार्यक्रमले जिल्लामा व्यवसायिक बाख्रापालनप्रति थप उत्साह र सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन्।


























