व्यास–११ को कोकलडाँडामा सोनाम ल्होछार भव्य रूपमा मनाइयो

व्यास–११ को कोकलडाँडामा सोनाम ल्होछार भव्य रूपमा मनाइयो


तनहुँ, माघ — व्यास नगरपालिका–११ स्थित कोकलडाँडामा तामाङ समुदायको महान् पर्व तथा नयाँ वर्ष मञ्जुश्री संवत् २८६२ ‘ता ल्हो’ (घोडा वर्ग) को अवसरमा सोनाम ल्होछार भव्य रूपमा मनाइएको छ।
स्थानीय रजक छोलिङ गुम्बाको आयोजनामा सम्पन्न कार्यक्रममा धार्मिक तथा सांस्कृतिक विधिअनुसार पूजा–अर्चना गर्दै हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरिएको थियो।
कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले सोनाम ल्होछारजस्ता सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र एकता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नगर प्रमुख न्यौपानेले तामाङ समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि नगरपालिका सधैँ सकारात्मक र सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा व्यास नगरपालिका–११ का वडा अध्यक्ष दलबहादुर दुरा तथा कोकलडाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामहरि बजगाई विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूले तामाङ समुदायलाई नयाँ वर्षको शुभकामना दिँदै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।
रजक छोलिङ गुम्बाका अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तामाङ समुदायको पहिचान झल्कने विविध सांस्कृतिक नृत्य तथा प्रस्तुति प्रस्तुत गरिएको थियो। गुम्बा परिसरमा आयोजित उत्सवमा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।


उत्सवमा सहभागीहरूले एक–आपसमा शुभकामना साटासाट गर्दै परम्परागत परिकारको स्वाद लिँदै सांस्कृतिक नाचगानमार्फत नयाँ वर्षलाई उल्लासपूर्ण रूपमा स्वागत गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page