छिम्केस्वरी स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट स्वास्थ्य सेवा शुभारम्भ
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केस्वरी स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट स्वास्थ्य सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। नयाँ भवन सञ्चालनमा आएसँगै ग्रामीण भेगका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा स्वास्थ्य क्षेत्रको सुधार र विस्तारका लागि गरिएको निरन्तर प्रयासको यो एक महत्वपूर्ण उपलब्धि मानिएको छ। स्थानीय तहबाटै प्रभावकारी रूपमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यअनुसार स्वास्थ्य चौकीको भौतिक पूर्वाधार सुदृढ गरिएको हो।

नवनिर्मित भवनबाट नियमित उपचार सेवा लगायतका आधारभूत स्वास्थ्य सेवाहरू अझ व्यवस्थित र सहज रूपमा सञ्चालन हुने गाउँपालिका अध्यक्षका स्वकीय सचिव मनोज बास्तोलाले जानकारी दिनुभयो।
आँबुखैरेनी गाउँपालिका स्वास्थ्य क्षेत्रमा थप सुधार र विकासका लागि सदा प्रतिबद्ध रहेको गाउँपालिकाले जनाएको छ।


























