म्याग्दे कांग्रेस निर्वाचन मोडमा: जगत तिम्लसिनालाई सम्मान, माघ २४ मा थर्पुमा चुनावी कार्यालय उद्घाटन

म्याग्दे कांग्रेस निर्वाचन मोडमा: जगत तिम्लसिनालाई सम्मान, माघ २४ मा थर्पुमा चुनावी कार्यालय उद्घाटन


तनहुँ।
नेपाली कांग्रेस म्याग्दे गाउँ कार्य समितिले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै निर्वाचन विशेष भेला तथा बैठक सम्पन्न गरेको छ। म्याग्दे गाउँपालिका–२ स्थित बी.पी. स्मृति भवनमा सम्पन्न बैठकले संगठन विस्तार र चुनावी तयारीसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकले हालै राष्ट्रिय सभा सदस्यमा निर्वाचित माननीय जगत तिम्लसिनालाई बधाई तथा सम्मान गर्ने निर्णय गरेको छ। साथै, तनहुँ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसकी समानुपातिक उम्मेदवार तथा शहीद पत्नी इन्दिरा खनाललाई अग्रिम बधाई ज्ञापन गरिएको छ।
आगामी निर्वाचनमा तनहुँ क्षेत्र नं. २ का उम्मेदवार शंकर भण्डारीलाई अत्यधिक मतसहित विजयी गराउने लक्ष्यका साथ रणनीति तय गरिएको बैठकले जनाएको छ। सोही रणनीतिअन्तर्गत माघ २४ गते म्याग्दे गाउँपालिकाको थर्पुमा चुनावी प्रचार–प्रसार कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ। कार्यालय उद्घाटन कार्यक्रम बिहान ११:३० बजे हुने तय भएको छ।
बैठकले म्याग्दे गाउँपालिकाका सातै वडामा वडा कार्यसमितिमार्फत तत्काल चुनावी प्रचार कार्यालय सञ्चालन गर्ने निर्णय समेत गरेको छ। साथै, संघीय उम्मेदवारलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले चन्दा संकलन गर्ने तथा प्रचार–प्रसारलाई भड्किलो नबनाई मितव्ययी र व्यवस्थित ढंगले सञ्चालन गर्न चुनाव प्रचार समिति गठन गर्ने निर्णय पारित गरिएको छ।


बैठकमा पालिकाभित्रका केन्द्रीय तथा पूर्व केन्द्रीय सदस्यहरू, गण्डकी प्रदेश कार्यसमिति सदस्यहरू, जिल्ला तथा क्षेत्रीय पदाधिकारीहरू, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, वडा सभापतिहरू तथा भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page