तनहुँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम न्यौपानेको घरदैलो अभियान तीव्र

तनहुँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम न्यौपानेको घरदैलो अभियान तीव्र


तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ–२ का प्रतिनिधिसभा उम्मेदवार इन्जिनियर श्रीराम न्यौपानेले चुनावी अभियानलाई तीव्र बनाउँदै तनहुँ–२ अन्तर्गतका विभिन्न स्थानीय तहमा सम्पर्क कार्यालय स्थापना तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिनुभएको छ।
उम्मेदवार न्यौपानेले व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ , घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिका क्षेत्रका वडा–वडा र टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी प्रतिबद्धता प्रस्तुत गरिरहनुभएको छ। घरदैलोका क्रममा उहाँले स्थानीयवासीका समस्या, गुनासा र सुझावहरू सुन्ने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


सम्पर्क कार्यालय स्थापनासँगै पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरू उत्साहित भएका छन्। स्थानीय तहमा सुशासन, पारदर्शिता, विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने उहाँको भनाइ छ। “राजनीतिमा नयाँ सोच र संस्कार आवश्यक छ, जनताको आवाज संसदसम्म पुर्‍याउन म उम्मेदवार बनेको हुँ,” उहाँले घरदैलोका क्रममा बताउनुभयो।
घरदैलो अभियानमा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। नागरिकहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी र रोजगारीका विषयमा आफ्ना अपेक्षा राखेका छन्। उम्मेदवार न्यौपानेले जनताका अपेक्षा पूरा गर्न इमानदार र जिम्मेवार प्रतिनिधि बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–२ मा परिवर्तनको आधार तयार पार्ने लक्ष्यसहित चुनावी अभियानलाई अझ सशक्त बनाउँदै लगेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page