सिद्धार्थ होटल दमौलीले २८ परिकार र १५% छुटसहित २८औँ वार्षिकोत्सव मनायो

दमौली, तनहुँ – सिद्धार्थ होटल दमौलीले स्थापना भएको २८औँ वार्षिकोत्सवको अवसरमा पाहुनाका लागि विशेष परिकार र छुटको व्यवस्था गर्दै विभिन्न सामाजिक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ।
उत्सव अवधिभर पाहुनाले २८ प्रकारका परिकारहरूको स्वाद लिन पाउने अवसर पाउनेछन्। साथै होटलले सबै मेनुमा १५ प्रतिशतसम्मको छुटसमेत उपलब्ध गराएको छ। होटल व्यवस्थापक अभिषेक अर्यालका अनुसार, “हामीले पाहुनालाई विशेष अनुभव दिने उद्देश्यले स्वाद, सुविधा र सामाजिक दायित्व सबैमा ध्यान दिएका हौं।”
सामाजिक कार्य अन्तर्गत मंगलबार होटलका कर्मचारीहरूले व्यास पराशर क्षेत्र प्रवेशद्वारमा सरसफाइ कार्यक्रम सञ्चालन गरेका थिए। त्यस्तै, बुधबार पराशर आश्रममा ज्येष्ठ नागरिकहरूलाई खाना खुवाउने कार्यक्रम आयोजना गरिने छ। शनिबार मादी नदीको दोभान क्षेत्रमा वृक्षारोपण कार्यक्रम पनि आयोजना गर्ने तयारी गरिएको छ।
दमौलीको मेनचोकमा अवस्थित होटल अल-डे-डाइनिङ रेस्टुरेन्ट, बार रेस्टुरेन्ट, सिद्धार्थ क्याफे र भवनमै क्यूएफएक्स सिनेमा हल सञ्चालन गर्दै आएको छ। आगन्तुकहरूले एउटै स्थानमा मनोरञ्जन र आतिथ्य सेवा दुवै अनुभव गर्न सक्छन्।
सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जाल पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको छ। यस सञ्जालमार्फत दुई हजारभन्दा बढीले रोजगारी पाएका छन् भने दमौलीको होटलमा मात्र ४० जनाले रोजगारी पाएका छन्।

दमौली धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण गन्तव्य हो। महर्षि वेदव्यासको तपोभूमि, मानुहुँकोट डाँडा, छाब्दीबाराही, तनहुँ कालिका र आदिकवि भानुभक्तसँग जोडिएको घाँसीकुवा जस्ता स्थलमा आउने पर्यटकलाई स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले होटल सञ्चालन गरिएको हो।


























