पूर्व राजदूत जयराज आचार्यद्वारा ऐतिहासिक मानुङ गाउँ भ्रमण

पूर्व राजदूत जयराज आचार्यद्वारा ऐतिहासिक मानुङ गाउँ भ्रमण


तनहुँ । कूटनीतिज्ञ तथा पूर्व राजदूत जयराज आचार्यले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली तथा महान कूटनीतिज्ञ यदुनाथ खनालको जन्मभूमिका रूपमा परिचित मानुङ गाउँको भ्रमण गरेका छन्।
माघ २१ गते (फाल्गुन कृष्ण तृतीया) मानुङ गाउँ पुगेका आचार्यले जीवनमै पहिलो पटक उक्त ऐतिहासिक भूमिमा पुग्दा आफू अत्यन्त हर्षविभोर भएको अनुभूति व्यक्त गरेका छन्। उनले नेपाली साहित्य, कूटनीति र राष्ट्रिय चेतनासँग गहिरो सम्बन्ध बोकेको यस पवित्र भूमिको माटो लिएर घर फर्किएको जनाएका छन्।
भ्रमणका क्रममा स्थानीय समाजसेवी विनोद खनालको सहयोगमा मानुङ गाउँको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक पक्षबारे परिचयात्मक अवलोकन गर्न पाएकोमा आचार्यले आभार व्यक्त गरेका छन्। उनले ऐतिहासिक भूमिको अवलोकन गर्ने अवसर दिलाएकोमा विनोद खनालप्रति सहस्र धन्यवाद प्रकट गरे।

मानुङ गाउँ आदिकवि भानुभक्त आचार्यसँगको ससुराली सम्बन्ध र नेपालको कूटनीतिक इतिहासमा विशिष्ट योगदान पुर्‍याएका यदुनाथ खनालको जन्मस्थलका रूपमा परिचित छ। यस्तो गौरवपूर्ण ऐतिहासिक पृष्ठभूमि बोकेको गाउँको भ्रमणले आफूलाई राष्ट्रिय इतिहास र पहिचानसँग थप नजिक ल्याएको आचार्यको भनाइ छ।
पूर्व राजदूत आचार्यले भविष्यमा पुनः मानुङ गाउँ भ्रमण गर्ने इच्छा व्यक्त गर्दै यहाँको सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन र समग्र विकासका लागि शुभकामना व्यक्त गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page