सुन्तलाको हबमा शिक्षाको सुगन्ध : बेनीमित्रको वार्षिकोत्सवमा अक्षयकोषको ओइरो

सुन्तलाको हबमा शिक्षाको सुगन्ध : बेनीमित्रको वार्षिकोत्सवमा अक्षयकोषको ओइरो


व्यास नगरपालिका–१३, बेनीकोट — सुन्तला उत्पादनका लागि प्रख्यात बेनीकोट अब शैक्षिक प्रगतिका कारण पनि चर्चा बटुल्न थालेको छ। बेनीमित्र प्राथमिक विद्यालयले आफ्नो ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गर्दै शिक्षाप्रतिको स्थानीय प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेख बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सरोकारवालाहरूले विद्यालयले छोटो समयमै हासिल गरेको उपलब्धिप्रति खुशी व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा व्यास नगरपालिका–१३ का वडाध्यक्ष वसन्त बहादुर आलेले विद्यालयको रूपान्तरण उल्लेखनीय रहेको बताए। “कुनै समय १३ जना विद्यार्थीमा सीमित यो विद्यालयमा अहिले ४३ जना विद्यार्थी अध्ययनरत छन्। यो वृद्धि गुणस्तरीय शिक्षाको प्रत्यक्ष परिणाम हो,” उनले भने। उनले बलियो शैक्षिक आधारले मात्र देशले सही दिशा पाउने उल्लेख गर्दै दक्ष नागरिक उत्पादनमा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
विशिष्ट अतिथि एवं व्यास नगरपालिकाकी कार्यपालिका सदस्य कमला देवी घर्तीले विद्यालयको शैक्षिक स्तर र विद्यार्थीहरूको प्रस्तुतिले बेनीकोट क्षेत्रको गौरव बढाएको बताइन्। गाउँकै सामुदायिक विद्यालय रोज्ने अभिभावकको बढ्दो विश्वास गुणस्तरीय शिक्षाको प्रमाण भएको उल्लेख गर्दै उनले बेनीकोट सुन्तलाको ‘हब’ भएकाले त्यसको आम्दानीबाट विद्यालयको स्तरोन्नतिका लागि सहयोग जुटाउन आग्रह गरिन्। सो अवसरमा उनले विद्यालयका लागि २५ हजार रुपैयाँ अक्षयकोषमा प्रदान गरिन्।
त्यसैगरी, आप्रवासी तनहुँका संयोजक विष्णु थापाले १० हजार रुपैयाँ अक्षयकोषमा सहयोग गर्दै गुणस्तरीय शिक्षा गाउँमै उपलब्ध भएपछि टाढाका निजी विद्यालय धाउनु पर्ने बाध्यता घटेको बताए। बेनीकोट भञ्ज्याङ रिङरोडका अध्यक्ष यम बहादुर रानाभाटले विद्यार्थी अभावका कारण मर्ज हुने अवस्थामा पुगेको विद्यालय अहिले जुझारु शिक्षकहरूको मेहनतले नमुना विद्यालयको रूपमा स्थापित भएको बताए। सिद्धबेनीका प्रधानाध्यापक रोदन थापाले छात्रवृत्ति लगायत शैक्षिक अभियानमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।
वार्षिकोत्सवकै अवसरमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने शिक्षक ईश्वर बास्तोला र बलिसरा थापालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। सहायक प्रधानाध्यापक मधुमाया रानाभाटले आफ्नो तीन दशक लामो शैक्षिक अनुभव साझा गरिन् भने शिक्षक कविता आलेले विद्यार्थीहरूलाई व्यायाम प्रशिक्षण दिइन्। शिक्षक मिना थापाले नयाँ विद्यार्थीहरूलाई स्वागत गरिन्। कार्यक्रमको सञ्चालन शिक्षक ईश्वर बास्तोलाले गरेका थिए।


सुन्तलाको सुगन्धले चिनिएको बेनीकोट अब शिक्षाको सुगन्धले पनि पहिचान बनाउने दिशामा अघि बढेको स्थानीयवासीको विश्वास छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page