धादिङको बेनीघाटमा मध्यरातको कहर: बस साहु दमाैलीका श्रेष्ठ सहित तीनको मृत्युु

धादिङको बेनीघाटमा मध्यरातको कहर: बस साहु दमाैलीका श्रेष्ठ सहित तीनको मृत्युु

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा सोमबार बिहान करिब १ः३० बजे भएको बस दुर्घटनाले तनहुँसहित सिंगो देशलाई स्तब्ध बनाएको छ। पृथ्वी राजमार्ग हुँदै पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई त्रिशूली नदी मा खस्दा १७ देखि १९ जनासम्मको मृत्यु भएको पुष्टि भएको छ भने २८ जना घाइते भएका छन्। उक्त बस दमाैलीकै रहेको पाइएको छ ।
अँध्यारो रात, चिसो हावा र तीव्र वेगमा बगिरहेको त्रिशूली—क्षणभरमै चिच्याहट, हाहाकार र उद्धारको आर्त पुकारमा बदलियो। नदीले बससँगै बस साहु लगायत दर्जनौँ परिवारकाे सपना पनि बगायो।

मृतकमध्ये तनहुँका व्यवसायी एवम् सवारी धनी ओमकुमार मल्ल (श्रेष्ठ) पनि छन्। व्यास नगरपालिका–१ (मोहरियाटार) निवासी श्रेष्ठ करिब १० वर्ष विदेशमा पसिना बगाएर फर्किएका थिए। “अब आफ्नै गाउँमा बसेर परिवारसँगै काम गर्छु,” भन्ने अठोटसहित उनले एक वर्षअघि बस खरिद गरेका थिए।
उनको जीवन योजनाले गति लिन थालेकै बेला नियतिले निर्दयी मोड लियो। छोरीको गुफा संस्कारका लागि सामग्री किन्न उनी आफ्नै बसमा काठमाडौँ जाँदै थिए। तर गन्तव्य नपुग्दै उनको जीवनयात्रा त्रिशूलीको गहिराइमा टुंगियो।
दुर्घटनामा उनकी श्रीमती सुकुमाया घाइते भएकी छन्। एकातिर जीवनसाथी गुमाएको असह्य पीडा, अर्कोतिर अस्पतालको बेडमा उपचाररत अवस्था—परिवारमाथि परेको यो दोहोरो बज्रपात शब्दमा बयान गर्न कठिन छ।
तनहुँका थप तीन परिवारमा कालो बिहान
दुर्घटनामा ज्यान गुमाउने तनहुँका अन्य दुई जनामा
विष्णुमाया ढकाल (शुक्लागण्डकी–७)
हरिप्रसाद सिग्देल (भिमाद–६)
रहेका छन्।
घाइतेमध्ये तनहुँका सोमप्रसाद मल्ल, मानबहादुर थापा, सदिक्षा हमाल ट्रमा सेन्टरमा तथा सुबिन मल्ल नेशनल अस्पतालमा उपचाररत छन्।
मेहनती, सरल र सहयोगी स्वभावका कारण श्रेष्ठ गाउँसमाजमा प्रिय थिए। एक छोरा र एक छोरीका पिता—परिवारको आधारस्तम्भ—अचानक खोसिँदा मोहरियाटार क्षेत्र नै शोकमा डुबेको छ।
छोरीको संस्कारका लागि किनिएका सपनाहरू अधुरै रहे।
मध्यरातको त्यो क्षणले कति परिवारको जीवन सधैंका लागि बदलिदियो। त्रिशूलीको बगरमा बगेको त्यो बस केवल सवारी साधन मात्र थिएन—त्यो दर्जनौँ घरको भविष्य, आशा र भरोसाको यात्रा थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page